कांग्रेसका स्थानीय अधिवेशन फेरि सुरू हुँदै – Nepal Press

कांग्रेसका स्थानीय अधिवेशन फेरि सुरू हुँदै

काठमाडौं । दसैँतिहारजस्ता मुख्य चाडपर्व सकिएसँगै नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया पुनः सुरू हुँदैछ । कांग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर २४ गतेदेखि २६ गतेसम्म तय गरिएको छ ।

१४ औं महाधिवेशनअन्तगर्त वडा अधिवेशनसमेत नभएका १३ जिल्लामा तिहारलगत्तै अधिवेशनको रौनक सुरू भएको छ । प्रदेश २ का जिल्लाहरू सिरहा, सप्तरी, धनुषा, सर्लाही, महोत्तरी, बारा र पर्सासहित सिन्धुपाल्चोक, कैलाली, सुर्खेत , बाँके र डोल्पा गरी १२ जिल्लामा छठलगत्तै कात्तिक २७ गते वडा अधिवेशन हुँदैछ । ती जिल्लामा वडा अधिवेशन गराउन कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मतदान अधिकृत समेत परिचालन गरिसकेको छ ।

‘कात्तिक २७ देखि अधिवेशनको तालिका पुनः सुचारु हुन्छ । त्यसका लागि हामीले मतदान अधिकृत खटाइसकेका छौ’, निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीले बताए । उनका अनुसार रसुवा र रौतहट बाहेकका जिल्लामा कात्तिक २७ देखि अधिवेशन सुरू हुनेछ । क्रियाशील सदस्यताको टुंगो लागेपछि ती दुई जिल्लामा पनि अधिवेशन गरिने केसीले बताए ।

१४ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन भइसकेका हिमाली जिल्लाहरू सोलुखुम्बु, दार्चुला र म्याग्दीमा भने कात्तिक २७ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन हुनेछ । यी तीन जिल्लासहित जुम्लामा मंसिर १ गते जिल्ला अधिवेशन हुनेछ । जुम्लामा वडा र स्थानीय तहको अधिवेशन भइसकेको छ ।

निर्वाचन समितिका अनुसार वडा र स्थानीय तहको अधिवेशन सम्पन्न भइसकेका अन्य ४६ जिल्लामा मंसिर ३ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन हुनेछ । अधिवेशन हुन बाँकी सबै जिल्लामा मंसिर ६ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुनेछ भने मंसिर १० मा जिल्ला अधिवेशन हुनेछ ।

महाधिवेशनको कार्यतालिका अनुसार मंसिर १६ र १७ गते प्रदेश अधिवेशन हुनेछ । निर्वाचन समितिले केन्द्रीय महाधिवेशनको निर्वाचन कार्यक्रम भने मंसिर २१ गतेदेखि नै कार्यान्वयनमा जाने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर