कर्णालीमा लुकाइएको ११ बुँदे : १५ वैशाखपछि नेकपा एसलाई मुख्यमन्त्री – Nepal Press

कर्णालीमा लुकाइएको ११ बुँदे : १५ वैशाखपछि नेकपा एसलाई मुख्यमन्त्री

सुर्खेत । कर्णाली प्रदेशमा आउँदो १५ वैशाखपछि नेकपा (एकीकृत समाजवादी) ले सरकारको नेतृत्व गर्ने भएको छ ।

गत ३ वैशाखमा नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा तत्कालीन एमालेको माधव नेपाल समूह (हाल एकिकृत समाजवादी), नेपाली कांग्रेस र माओवादी केन्द्रबीच ११ बुँदे समझदारी भएको थियो । त्यो समझदारीअनुसार माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यही १५ कात्तिकमा राजीनामा दिइसकेका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गत ३ वैशाखमा विश्वासको मत लिँदा वैशाख २ राति तत्कालीन एमालेका चार सांसदले फ्लोर क्रस गर्ने र ६/६ महिना तीन दल (माओवादी, कांग्रेस र नेकपा एस) ले प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भएको त्यस बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

‘हामीले ६/६ महिना सरकारको नेतृत्व गर्ने समझदारी गरेका हौँ’, उनले भने, ‘त्यही समझदारीअनुसार माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा गरेर कांग्रेसबाट मुख्यमन्त्रीमा जीवनबहादुर शाही बनिसक्नु भएको छ । उहाँले १५ वैशाखपछि एकीकृत समाजवादीलाई नेतृत्व हस्तान्तरण गर्नुहुन्छ ।’

मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदा भएको सम्झौता अहिले कुनै पक्षले सार्वजनिक गरेका छैनन् । तर, सम्झौताका बुँदाहरू क्रमश: भने केही नेताले सार्वजनिक गरिरहेका छन् ।

मुख्यमन्त्री शाहीले १४ कात्तिकसम्म पनि कर्णाली प्रदेश सरकारको नेतृत्व नछाड्ने देखेपछि कांग्रेसनिकट नेताहरूले ११ बुँदे सम्झौता भएको अभिव्यक्ति दिएका थिए । हालका मुख्यमन्त्री जीवनबहादुर शाहीले सम्झौताअनुसार माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पालना नगरे कर्णालीमा नयाँ कोर्सबाट काम गर्न तयार रहेको बताएका थिए ।

मुख्यमन्त्री शाहीले राजीनामा दिँदा आफूले गरेको सम्झौताको इमान्दार पालना गरेको बताएका थिए । त्यसबेला समझदारी गर्दा एमालेबाट फ्लोर क्रस गरेका सांसदहरूलाई उपनिर्वाचनमा लड्दा माओवादी केन्द्र र नेपाल कांग्रेसले उनी उपनिर्वाचन उठेका क्षेत्रमा आफ्ना उम्मेदवार नलडाउने पनि सम्झौता भएको र अहिले उपनिर्वाचन हुने अवस्थामा पनि नरहेको उनले जानकारी दिए ।

सम्झौताको इमान्दार पालना गरे आउँदो १५ वैशाखपछि कर्णालीमा एकीकृत समाजवादीले मुख्यमन्त्री पाउने बताइएको छ । कर्णालीमा एकीकृत समाजवादीले मुगुका चन्द्रबहादुर शाहीलाई संसदीय दलको नेतामा चयन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर