गद्दारीको इतिहासमा प्रचण्डले केशरजंग रायमाझीलाई पनि उछिने : प्रभु साह – Nepal Press

गद्दारीको इतिहासमा प्रचण्डले केशरजंग रायमाझीलाई पनि उछिने : प्रभु साह

गौर । एमाले नेता तथा पूर्वमन्त्री प्रभु साहले प्रचण्ड केशरजंग रायमाझीको नयाँ अवतार रहेको आरोप लगाएका छन् । दीपावली तथा छठ पर्वको अवसरमा शनिबार रौतहटको कटहरीया नगरपालिका-१, भसेढवामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता साहले कांग्रेसको पुच्छर बनेर प्रचण्डले जनयुद्ध र शहिद समेतको अपमान गरेको बताए ।

विगतमा कांग्रेसी फाँसीवादको विरुद्ध युद्ध गरेर किसान मजदुरको रगत बगाएर प्रचण्डले अन्तिममा कांग्रेसकै लंगौटी बनेर केशरजंग रायमाझीको नयाँ रुप देखाएको टिप्पणी उनले गरे । सर्वहारावर्गको मत लिएर प्रतिक्रियावादी शरणमा पुगेर प्रचण्डले आफ्नो पतनको दिशा आफै चयन गरेको बताए ।

‘हिजो कांग्रेसी फाँसींवादको विरुद्ध भीषण युद्धमा किसान मजदूरको रगत पसिनाबाट नेता बनेका प्रचण्ड गत निर्वाचनमा कांग्रेसको विरुद्ध जनताको मत लिएर आज त्यही कांग्रेसीको लंगौटी बनेको छ । प्रचण्डको यो गद्दारीको कदम नेपाली ईतिहासमा नौलो होईन, केशरजंग रायमाँझी प्रवृतिको पुनरावृत्ति हो’ उनले भने ।

‘अहिले तपाईहरुलाई लाग्न सक्छ प्रचण्ड नै माओवादी हो भनेर । तर, नेकपा माओवादी केन्द्र एउटा नाम मात्र हो, खास अर्थमा भन्ने हो भने एउटा पसलको रुपमा मात्र बाँकी रहेको छ । प्रचण्ड त्यसको एउटा व्यापारी बनेको छ । माओवादी विचार, विरासत, मुद्दा र महान शहिदहरुको सपना बेचेर अहिले प्रचण्डले जनतालाई धोका दिएको छ’ उनले आरोप लगाए ।

नेता साहले थपे, ‘कांग्रेसको विरुद्धमा गरिब, मजदुर, किसान एवम् सर्वहारा वर्गको विश्वास जितेर बहुमत हासिल गरेका प्रचण्डले पछी त्यही कांग्रेसको पुच्छर बन्ने काम गरे । यसरी जनतालाई धोका दिने प्रचण्डहरुको पतन निश्चित छ ।’

कार्यक्रममा एमाले केन्द्रीय सदस्य कुन्दन कुश्वाहा, कटहरीया नगरपालिकाका मेयर सियाराम कुश्वाहा, नेता त्रिभुवन साह, सो वडाका वडाध्यक्ष राजकुमार साह, आईटी आर्मीका जिल्ला अध्यक्ष नरेश साह तुरहा लगायतका नेताहरुको उपस्थिती थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर