कोप-२६ मा कोइला विस्थापनका लागि १९० राष्ट्र तथा संस्था सहमत – Nepal Press

कोप-२६ मा कोइला विस्थापनका लागि १९० राष्ट्र तथा संस्था सहमत

ग्लास्गो । भियतनाम र चिलीजस्ता ठूला कोइला प्रयोगकर्तासहित १९० राष्ट्र तथा संस्थाले कोइला प्रयोग रोक्ने प्रतिबद्धता जनाएका छन् । प्रतिबद्धतामा कोइलाका प्रमुख प्रयोगकर्ता अस्ट्रेलिया, भारत, चीन र अमेरिकाले हस्ताक्षर नगरेका बेलायती सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

जलवायु परिवर्तनका लागि कोइला प्रमुख कारक तत्व भएकोले सहमतिमा हस्ताक्षर गरेका राष्ट्रहरूले अन्तर्राष्ट्रिय र राष्ट्रिय बजारमा कोइला प्रयोग हुने ऊर्जा उत्पादनमा हुेने सबै किसिमका लगानी अन्त्य गर्ने प्रतिबद्धता गरेका छन् ।

उनीहरूले सन् २०३० को दशकमा धनी राष्ट्रमा र सन् २०४० को दशकमा गरिब राष्ट्रमा कोइला ऊर्जालाई विस्थापित गर्न पनि सहमत भएका छन् ।

बेलायतका व्यापार र ऊर्जामन्त्री क्वासी क्वार्टेन्ङले भने, ‘कोइलाको अन्त्य अवश्यम्भावी देखिएको छ र कोइलाको भविष्य निर्धारण गर्ने, पर्यावरणलाई अँगाल्ने र स्वच्छ ऊर्जा प्रयोग हुने भविष्य निर्माण गरेर आर्थिक लाभ लिने विषयमा विश्व उचित दिशामा अगाडि बढिरहेको छ ।”

सोसम्बन्धी विज्ञप्तिमा ४० भन्दा बढी राष्ट्रले हस्ताक्षर गरेका छन्। पोल्यान्ड, भियतनाम र चिलीसहित १८ राष्ट्रले पहिलो पटक कोइला विस्थापित गर्ने र त्यसमा थप लगानी नगर्ने प्रतिबद्धता जनाएको बेलायती अधिकारीले पुष्टि गरेका छन् ।

तर बेलायतका छाया व्यापारमन्त्री एड मिलिबान्डले राष्ट्रिय रूपमा कोइलाको प्रयोग नबढाउने प्रतिबद्धता व्यक्त नगरेका कतिपय मुलुक र प्रमुख कोइला प्रयोगकर्ताका कारण त्यसमा ठूलो खाडल देखिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर