‘जादुमयी रोनाल्डोको जादुमयी क्षण’ – Nepal Press

‘जादुमयी रोनाल्डोको जादुमयी क्षण’

इन्जुरी समयमा बराबरीसहित चार खेलमा पाँच र दुई विजयी गोल

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको स्तरमा यो वर्षको च्याम्पियन्सलिग यात्रा लज्जास्पद छ । जादुमयी र पागलपनले भरिएको म्यानचेस्टर युनाइटेडको यो सिजन विचित्रको भइरहेको छ । यसै क्रममा मंगलबार राति च्याम्पियन्सलिगमा एट्लान्टाविरुद्धको खेल पनि रक्षापंक्तिको कमजोरीका कारण अर्को एक नाटकीय नतिजा निस्कियो ।

एट्नाल्टाविरुद्ध दुई पटक खेलमा पछाडि परेको युनाइटेड समूह ‘एफ’ को शीर्ष स्थानबाट तेस्रो स्थानमा उछिट्टिने खतरामा थियो । तर, प्रतियोगिताकै सर्वकालीन सर्वाधिक गोलकर्ता रोनाल्डोले इन्जुरी समयमा बराबरी गोल फर्काउँदै युनाइटेडको त्यो खतरा टारे ।

रोनाल्डोले मध्यान्तरभन्दा अगाडि नै बराबरी गोल गर्दै १-० ले पछि परेको युनाइटेडलाई बराबरीमा ल्याइसकेका थिए । यद्यपि, खेलको दोस्रो हाफमा फेरि २-१ गोलको नतिजामा पछाडि परेको युनाइटेडलाई हारबाट जोगाउन इन्जुरी समय (९१औं मिनेट) मा पेनाल्टी एरिया बाहिरबाट प्रहार गर्दै उनले गरेको गोल थप नाटकीय र महत्वपूर्ण सावित भयो । त्यसै गोलबाट बराबरीसँगै युनाइटेडले तेस्रो स्थानमा चिप्लिनु पर्ने बाध्यता टार्‍यो ।

‘यो कठिन थियो, तर हामी अन्तिम समयसम्म विश्वस्त थियौं,’ रोनाल्डोले भने, ‘महत्त्वपूर्ण एक अंक हासिल गर्न मैले मेरो टोलीलाई सहयोग गरेँ । हामी कहिल्यै हार मान्दैनौं । हामी अन्त्यसम्म विश्वस्त थियौं । र यो हाम्रा लागि सुखद् नतिजा हो ।’

रोनाल्डोले च्याम्पियन्स लिगको जारी सिजनमा आफ्नो टोलीले खेलेका समूह चरणका सबै खेलमा गोल गरेका छन् । तीमध्ये भिलारियाल र एट्लान्टाविरुद्धको पहिलो लेगमा अन्तिम समयमा विजयी गोल पनि समावेश छन् ।

रोनाल्डोको उत्कृष्ट प्रदर्शनका बाबजुद पनि युनाइटेडले जित निकाल्न सकेन । तर, मंगलबार रातिको खेलमा बराबरी पनि युनाइटेडका लागि सानो उपलब्धी रहेन । यद्यपि, प्रिमियर लिगमा घरेलु मैदानमा शनिबार राति म्यानचेस्टर सिटीविरुद्ध युनाइटेडको अझै कठिन परीक्षा हुने निश्चित छ ।

रोनाल्डोले मंगलबार राति एट्लान्टाविरुद्ध गरेको गोल युनाइटेडका लागि उनले खेलेका ३ सय ३ खेलमा १ सय २७औं गोल हो । उमेरले ३६ पुगिसकेका रोनाल्डो त्यो गोलसँगै युनाइटेडका लागि युरोपेली फुटबल प्रतियोगितामा एकै खेलमा एकभन्दा धेरै गोल गर्ने सबैभन्दा पाको खेलाडी बनेका छन् ।

त्यतिमात्रै नभएर पाँच पटकका बालोन डी’अर विजेता रोनाल्डो सन् २००३ मा रुड भान नेस्टेलरोएपछि च्याम्पियन्स लिगमा लगातार गोल गर्ने खेलाडीसमेत बनेका छन् ।

‘हामी सबैको आफ्नै भूमिका र जिम्मेवारी छन्,’ युनाइटेडका मुख्य प्रशिक्षक सोल्सायरले भने, ‘उनी लिडर हुन् ।’

‘उनले यस्ता क्षण हामीलाई दिनेछन्, माइकल जोर्डन हुँदा सिकागो बुल्सलाई समस्या हुन्छ जस्तो मलाई लाग्दैन,’ सोल्सायरले भने, ‘मलाई थाहा छ कुरा उठिरहेका छन्, रोनाल्डो हाम्रा लागि अझै उत्कृष्ट हुँदैछन् ।’

खेलपछि रोनाल्डोको प्रशंसा गर्दै सोल्सायरले भने, ‘क्रिस्टियानो अविश्वसनीय छन् । उनले गर्ने नै यस्तै हो । अन्तिम समयमा गोल गर्ने कठिन मौका सृजना गर्न सक्छ भने ती रोनाल्डो हुन् । भलीमा उनको ‘टेक्निक’ अविश्वसनीय थियो ।’

ठूला अवसरमा सधैँ प्रभावशाली

११ गोल गरिसकेका रोनाल्डोका गोलहरू यो सिजन फर्किएका छन् । उनको क्षमतामा प्रश्न कहिल्यै उठेको छैन । यदाकदा रोनाल्डोको समग्र प्रदर्शनको भने आलोचना हुन्छ नै ।

लिभरपुलसँग घरेलु मैदानमा ०-५ गोलको नजितामा पराजित भएर रोनाल्डो युनाइटेड फर्किएसँगै टोलीले एक भएर सृजना गर्ने प्रभावशाली खेलको कमी भएको प्रतिक्रिया आएका थिए ।

‘मान्छेहरू भन्छन् उनी धेरै मेहेनत गर्दैनन्, बलमा प्रेस गर्दैनन्, तर उनी खेलमा सबैभन्दा कठिन र महत्त्वपूर्ण- गोल हान्ने काम गर्छन्,’ म्यान्चेस्टर युनाइटेडका पूर्वडिफेन्डर रियो फर्डिनान्डले बिटी स्पोर्ट्ससँग भने, ‘कठिन समयमा उनी सधैँ टोलीका लागि प्रभावशाली हुन्छन्, जुनसुकै देशमा, जुनसुकै रंगशालामा र जुनसुकै समयमा । उनी महत्त्वपूर्ण क्षणमा सँधै आइपुग्छन् र महत्त्वपूर्ण योगदान दिन्छन् ।’

एभर्टनका पूर्वमिडफिल्डर लियोन ओस्मानले पनि एट्लान्टाको बक्सअघि रोनाल्डोले बल पाउँदा नै दोस्रो गोल हुने निश्चित भइसकेको बताए ।

लिभरपुलसँग घरेलु मैदानमा ०-५ गोलको नजितामा पराजित भएर रोनाल्डो युनाइटेड फर्किएसँगै टोलीले एक भएर सृजना गर्ने प्रभावशाली खेलको कमी भएको प्रतिक्रिया आएका थिए ।

‘एट्लान्टाले आफैँलाई लात हानिरहेका होलान्, किनभने युनाइटेडविरुद्ध २-१ को जित निकाल्न सकेनन्,’ ओस्मानले भने ।

‘युनाइटेडले मौकाको सदुपयोग कसरी गर्छ भन्न सकिँदैन,’ उनी भन्छन्, ‘तर रोनाल्डो गोलका लागि अगाडि बढेका छन् भने अब के हुन्छ सबैलाई थाहा हुन्छ । जादुमयी खेलाडीबाट जादुमयी क्षण थियो त्यो । युनाइटेडले खेल नहार्ने सुनिश्चित गर्न त्यो महत्त्वपूर्ण थियो ।’

रोनाल्डोको उत्कृष्ट प्रदर्शनका बाबजुद पनि युनाइटेडले जित निकाल्न सकेन । तर, मंगलबार रातिको खेलमा बराबरी पनि युनाइटेडका लागि सानो उपलब्धी रहेन । यद्यपि, प्रिमियर लिगमा घरेलु मैदानमा शनिबार राति म्यानचेस्टर सिटीविरुद्ध युनाइटेडको अझै कठिन परीक्षा हुने निश्चित छ ।

‘यदि युनाइटेडले शनिबार पनि एट्लान्टाविरुद्धको दोस्रो हाफ जस्तै खेल्यो भने सिटीविरुद्ध फेरि ३, ४ वा ५ गोलको झापड खान्छ,’ फर्डिनान्डले भने, ‘हिजोको खेलमा ‘इन्टेन्सिटी’ थिएन । खेलमा फर्मेसन पनि अव्यवस्थित थियो तर रोनाल्डोले बचाए ।’

एट्लान्टाले थप गोल गर्न नसक्नु युनाइटेडको सुखद् भाग्य सावित भएको फर्डिनान्डले प्रतिक्रिया दिएका छन् ।

युनाइटेडका पूर्वमिडफिल्डर पौल स्कोल्सले पनि दोस्रो गोल नभएको भए झ्याउ हुने तर रोनाल्डोले फेरि एकपटक आफ्नो टोलीलाई दोस्रो हाफको दलदलबाट निकालेको बताएका छन् ।

एट्लान्टाका प्रशिक्षक जियान पिएरो गास्पेरिनीले दुई पटकको अग्रता जोगाउन नसक्दाको निराशा १ देखि १०० मा १००० रहेको प्रतिक्रिया दिए ।

‘हामीले जित्न सक्छौं भन्ने विश्वास थियो,’ गास्पेरिनीले भने, ‘उनीहरू हतास भइसके जस्तो देखिन्थो । तर, हामी अविश्वसनीय खेलाडीको विरुद्धमा पर्‍यौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर