प्रदेश १ नामाकरणको विषय तिहारपछिको सदनबाट प्रवेश पाउँछ: मुख्यमन्त्री राई – Nepal Press

प्रदेश १ नामाकरणको विषय तिहारपछिको सदनबाट प्रवेश पाउँछ: मुख्यमन्त्री राई

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरणलाई चाँडै टुंगो लगाउने बताएका छन् । बिहीबार काठमाडौँमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले प्रदेशको नामाकरणलाई चाँडै टुंगो लगाउने बताएका हुन् । अघिल्लो सरकारले शुरु गरेका कामलाई पूरा गर्ने र बजेटलाई श्रोत खोजेर ठूलो बनाउने बताए ।

मुख्यमन्त्री राईले आफ्नो कार्यकालमा बजेटलाई सही ढंग र सही स्थानमा खर्च गर्ने बताउँदै नेकपा एमालेको सरकारले प्रदेशको नामाकरणका लागि पहल नै नगरेको आरोप लगाए । उनले प्रदेशको नामाकरण गर्न दुई तिहाई मतको आवश्यक पर्ने भएकोले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुसँग पनि छलफल गर्ने र सहयोग पु¥याउन आग्रह गर्ने बताए ।

मुख्यमन्त्री राईले भने,‘पहिलो कुरा त यसको नाम तोक्ने काम हामी आरम्भ गर्दछौँ र प्रक्रिया पूरा गरेर नाम तोक्छौँ, सांसदहरुलाई निरिह बनाइएको छ, योजना छनोटमा, विधेयक निर्माणमा सांसहरुबलियो बनाउने ढंगले हामी अघि बढाउने प्रयास गर्छौं, शान्ति सुव्यवस्था कायम गर्ने, सुशासन कायम गर्ने कामहरु गर्नेछौँ  ।’

उनले  अघिल्लाे सरकारले  प्रदेशकाे नामाकरण गर्न  प्रयास नगरेकाे आराेप लगाए ।

मुख्यमन्त्री राई भन्छन्, ‘अघिल्लो सरकारले प्रदेशको नाम नामाकरण गर्न सकेन भन्दा पनि प्रयास नै गरेन, यदि प्रयास गरेको थियो भने नेकपा हुँदा आफैँमा दुई तिहाई सांसदहरु थिए, नाम तयार गर्न सक्छ तर त्यसलाई औपचारिक रुपमा छलफल गर्ने, संसदमा प्रवेश गराउने, काम नै गरेन, म यो तिहारपछि संसद शुरु भएदेखि नै नामलाई छलफल गराउने, संसदमा प्रवेश गराउने र प्रक्रियाद्वारा टुंगो लगाउने ढंगले जान्छु र यसका लागि खास गरी दुई तिहाईको जरुरत पर्छ, त्यसको लागि प्रतिपक्षमा रहेको नेकपा एमालेको पनि साथ र सहयोग जरुरी छ, उनीहरुसँग पनि म सौहाद्रपूर्ण ढंगले छलफल गरेर यसलाई टुंगो लगाउने दिशामा अघि बढ्छु ।’

मुख्यमन्त्री राईले नेपालमा संघीयता सही ढंगले अघि बढ्न नसकेको बताए । उनले अहिले पनि नेपालमा केन्द्रिय ढंगले नै काम हुने गरेको बताउँदै प्रदेशलाई दिनुपर्ने अधिकार संघले नदिएको बताउनुभयो । न्यूज एजेन्सी नेपालसँग कुराकानीमा मुख्यमन्त्री राईले केन्द्रिय सरकारसँग ऋण लिएर भएपनि जनहीतका काम गर्ने र बजेटको दायरालाई बिस्तार गर्ने बताए ।

मुख्यमन्त्री राई भन्छन्,‘नेपालमा संघीयता सही ढंगले अघि बढ्न सकेको छैन, काार्यन्वयन हुन सकेको छैन, अहिले पनि एक हिसावले भन्ने हो भने केन्द्रियता नै केन्द्रिय प्रणाली जस्तो ढंगले नै अगाडि बढेको छ, केन्द्रबाट ऋण लिएर भएपनि काम जन अपेक्षाअनुसार भेट्ने गरी अगाडि बढ्नुपर्छ, बजेटको दुरुपयोग पनि छ, चुहावट छ, भ्रष्टाचार हुन्छ, गर्नुपर्ने काममा पैसा नलगाउने, नगर्नुपर्ने काममा पैसा उडाउने यस्तो कुरालाई म हटाएर बजेट ठूलो बनाएर भएको बजेटलाई सही ढंगले सदुपयोग गर्ने ढंगले अघि बढ्छु ।’

 


प्रतिक्रिया

One thought on “प्रदेश १ नामाकरणको विषय तिहारपछिको सदनबाट प्रवेश पाउँछ: मुख्यमन्त्री राई

  1. ला ! खान्छ प्रदेशको नामकरण गर्ने, दुईतिहाईले हुने, अघिल्ल‍ो मुख्यमन्त्रीको काम उल्टाउने बाचा गरेकाले हेराै त कसरी काम गर्ला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर