जुवाडे नेता धरौटीमा छुटे, जुवा खेलाउने गुण्डा नाइके पैसा बोकेर फरार – Nepal Press

जुवाडे नेता धरौटीमा छुटे, जुवा खेलाउने गुण्डा नाइके पैसा बोकेर फरार

दाङ । दाङको रझेनाबाट साढे चार लाखभन्दा बढी रकमसहित पक्राउ परेका २० जना जुवाडेलाई राजनीतिक दबाबमा छाडिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले घोराही उपमहानगरपालिका-१८ रझेनामा यज्ञ खड्काको घरमा छापा मारेर चार लाख ६४ हजार ८८१ रूपैयाँसहित पक्राउ गरेको छ । जुवाडेले प्रयोग गरेका चारवटा कारहरू समेत प्रहरीले नियन्त्रणमा लिउको थियो ।

बाहिरै गाडीमा बसिरहेका गुण्डा नाइके बाबु पुन र सुशील डाँगीसहितको समूह लाखौं रकम लिएर झुक्याइ भागेको भन्दै प्रहरीले उनीहरूको खोजी भइरहेको जनाएको छ ।

जुवाको खालबाट पक्राउ परेकामध्ये एमाले नेता घोराही- १५ का ५७ वर्षीय महावीर वली, घोराही -१५ कै घोराही खानेपानी उपभोक्ता सरसफाइ संस्थाका कोषाध्यक्ष धुर्वराज केसी, सोही ठाउँकै माओवादी नेता पूर्णचन्द्र अधिकारी छुटेका छन् ।

रोल्पा रुन्टीगढी गाउँपालिकाका ४३ वर्षीय रुपलाल बिक, दाङको घोराही उपमहानगरपालिका- १५ का ४२ वर्षीय यज्ञप्रताप बस्नेत, ५१ वर्षीय रामप्रसाद गिरी, २८ वर्षीय मानबहादुर बुढा मगर, ५० वर्षीय रगेन्द्र श्रेष्ठ, घोराही- १४ का २९ वर्षीय लालबहादुर अमल, घोराही- १५ का ५७ वर्षीय शरद लामिछाने, घोराही- १२ का ५२ वर्षीय कुलराज वली पनि छुटेका छन् ।

त्यस्तै कांग्रेस नेताहरू घोराही- ५ का ५७ वर्षीय नवीन पछाइ, घोराही- १५ का ५२ वर्षीय चेतनाथ धिताल, ४६ वर्षीय सुवास धिताल, ४२ कै प्रमोद गौतम, घोराही- १९ का ५६ वर्षीय ईश्वर रायमाझी, घोराही- १६ का ३४ का रवि गिरी, घोराही- १८ का ४९ वर्षीय समिर लामा, घोराही- १४ का २५ वर्षीय यज्ञ खड्का र घोराही- १४ का २४ वर्षीय कमल घर्ती छुटेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जुवाडेलाई राति नै छाडिएको बताए । उनले जिल्ला सरकारी वकिल कार्यालयसँग राय लिएर प्रतिव्यक्ति २५ हजारका दरले धरौटी बुझाएपछि जुवाडे छुटेको जानकारी दिए । बुधबार बेलुका ५ बजे जिल्ला सरकारी वकिल कार्यालयमा प्रहरीले अनुसन्धान प्रतिबेदन बुझाएको थिए।

एसपी काफ्लेले हाइप्रोफाइल जुवाडेमाथि अनुसन्धान गर्न ७ दिनको म्याद प्रहरीले थपे पनि सार्वजनिक बिदा परेकाले बेलुकी ५ बजेपछि अनुसन्धान प्रतिवेदन बुझाउन नसकिने भएकाले धरौटीमा छाडिएको बताए ।

आजदेखि तिहार बिदा सुरू हुने भएकोले हिजै हतारहतार राजनीतिक दबाबमा जुवाडे छाडेपछि प्रहरी विवादमा तानिएको छ । २० जनामध्ये सबैजसो राति नै छुटे पनि धरौटी तिर्न नसकेका ४ जना बिहानमात्रै प्रहरीले छाडेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी मुकुन्द रिजालले जानकारी दिए ।

तुलसीपुरको जुवाखालमा पक्राउ परेका कांग्रेस र एमालेका नेता पनि रिहा

त्यस्तै तुलसीपुरमा पक्राउ परेका जुवाडेहरू पनि छुटेका छन् । चार दिन म्याद थप गरिएको बताएको प्रहरीले हिजै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएर २५ हजारका दरले २ लाख धरौटी बुझाएर जमानतमा छाड्न प्रहरीले आदेश गरेपछि उनीहरू सबै छुटेका हुन् ।

शुक्रबार तुलसीपुरको एक खाली घरमा कौडा खेलिरहेका एमालेका नेता मानबहादुर रावत, कांग्रेसका केही नेतासहित ८ जना पक्राउ परेका थिए ।

एमाले क्षेत्र नम्बर ३ का इन्चार्ज तथा लुम्बिनी प्रदेश कमिटी सदस्य रावतसँगै कांग्रेसका नेता सुरेन्द्र हमाल, दीपेन्द्र गिरी (दिपु) सहित रोहित न्यौपाने, चित्रबहादुर बस्नेत, मिनकेतन गिरी, बिबेक मल्ल र दिगाम्बर गिरीलाई प्रहरीले कौडा र एक लाख ९८ हजार २ सय रुपैयाँसहित नियन्त्रणमा लिएको थियो । उनीहरु तुलसीपुर ६ रजौरा स्थित विष्णु आचार्यको खाली घरमा जुवा खेलिरहेका थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरले उनीहरूलाई तीन दिनमै छाडेको छ । तर, जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेशप्रसाद काफ्लेले आफूलाई यस बारेमा थाहा नभएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *