यस्तो छ राजेश हमालको स्वरमा रहेको पहिलो गीत ‘मन बुढो भएन (भिडिओ) – Nepal Press

यस्तो छ राजेश हमालको स्वरमा रहेको पहिलो गीत ‘मन बुढो भएन (भिडिओ)

काठमाडौं। अभिनेता राजेश हमालको स्वरमा रहेको गीत ‘मन बुढो भएन’को भिडिओ रिलिज गरिएको छ । बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै भिडिओ रिलीज गरिएको हो । यो गीत नै हमालले गाएको पहिलो अफिसियल गीत हो । गीतमा दीपक शर्माको शब्द तथा संगीत छ ।

गीतमा हमालको साथमा गायक सुवास पुरी तथा गायिकाद्वय एलिना चौहान र बेनिशा पौडेलको स्वर छ । देवेन्द्र पाण्डेले निर्देशन गरेको गीतको भिडिओमा हमालसँग रेश्मा घिमिरेले अभिनय गरेकी छन् । उत्सव दाहालले छायांकन गरेको भिडिओलाई विकास दाहालले सम्पादन गरेका छन् ।

फिल्म करिअरको तीन दशकपछि आएर हमालले गीत गाएका हुन् । केहि फिल्मका गीतमा आवाज दिएको भएता पनि सुरमा रहेर गाएको यो नै पहिलो भएको हमालले बताए । संगीतकार दीपक शर्माले दिएको हौसलाले आफूले यो गीत गाउन सफल रहेको उनको जिकिर थियो । कार्यक्रममा हमालले आफ्नो स्कुले जीवनमा गाउने गीत सम्झना गरे ।

‘विद्यालयमा संगीतको कक्षा हुँदा म अगाडिको सिटमा बस्थें । त्यो बेला सर, मिसहरुले मलाई गीत गाउनका लागि भन्नुहुन्थ्यो र म गीत गाउँथे । मैले कक्षा ५, ६ मा पढ्दा राम्रै गीत गाउँथे । तर त्यसपछि के कारणले हो गीत गाउनै सकिएन’, उनले बताए । कुनै संगीतकारले बिश्वास गरे आफुले अन्य गीत गाउन तयार रहेको पनि उनले बताए ।

गीतको शीर्षक सम्बन्धित प्रश्नमा हमालले आफुलाई जिस्क्याउने गीत बनेको बताए । ‘उमेर आफ्नो रफ्तारमा गईरहेपनि मन बुढो भने कहिल्यै हुँदैन । यो गीतको पोस्टर शेयर गरेपछि उमेर धेरै भएका शुभचिन्तकहरुले हौसला मिलेको बताउनुभयो । मलाई पनि लाग्छ मन बुढो कहिल्यै हुँदैन’, उनले भने, ‘आफ्नो उमेर घटाएर कहिल्यै घट्दैन तर उमेर भन्दा बढि नदेखिन आफ्नो जीवनशैली मिलाउनै पर्छ’ ।

अभिनेत्री रेश्मा घिमिरेले हमालसँग काम गरिसकेपछि आफ्नो जीवन मोडिएको बताईन् । भनिन्, ‘यदि मैले उहाँको जस्तै जीवनशैलीलाई लगातार अँगाल्न सकेँ भने मैले राम्रो जीवन बाँच्नेछु’ । एक दिनमा नै आफुले हमालबाट धेरै कुरा सिकेको उनले बताईन् ।

संगीतकार दीपक शर्माले राजेश हमालको स्वरबाट आफु प्रसन्न रहेको बताए । हमालसँग काम गर्न पाउनु अवसर र चुनौती दुवै रहेको उनले बताए । यस अघि हमालसँग चारवटा म्यूजिक भिडियोमा काम गरिसकेका निर्देशक देवेन्द्र पाण्डेले हमाललाई यो गीतमा अरुभन्दा फरक तरिकाले अभिनय गराएको बताए ।

गायिकाद्वय एलिना चौहान र बेनिशा पौडेलले हमालको स्वरमा रहेको गीतमा आफुले पनि गाउन पाउनु भाग्यले पाएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर