अनमोलको प्रिय साथी कोको, घरदेखि फिल्मसम्म एकसाथ ! – Nepal Press

अनमोलको प्रिय साथी कोको, घरदेखि फिल्मसम्म एकसाथ !

काठमाडौं । यमपञ्चक अन्तर्गत आज कुकुर तिहार । मान्छेको सबैभन्दा पुरानो साथी मानिने कुकुर पूजा तिहारको मुख्य आकर्षण हो ।

आधा शताब्दी इतिहास बोेकेको नेपाली फिल्ममा कुकुरको समेत योगदान छ । केही हिट नेपाली फिल्म यस्ता छन् जसमा कुकुरको मुख्य भूमिका छ । राजेश हमालले धेरैवटा फिल्ममा कुकुरसँग अभिनय गरेका छन् ।

राजेश र कुकुरले भरपर्दा मित्रको भूमिकामा केही फिल्ममा अभिनय गरेका छन् । विश्वासिलो र इमान्दार प्राणीको रुपमा कुकुरलाई निर्देशले ती फिल्ममा चित्रण गर्ने गरेका छन् ।

धेरैलाई थाहा नहुनसक्छ, झरना थापाले निर्देशन गरेको आगामी फिल्म ए मेरो हजुर ४’मा समेत कुकुरको मुख्य भूमिका छ । भुवन केसीले घरपालुवाको रुपमा लामो समयदेखि पाल्दै आएको कोको नामक कुकुरले उक्त फिल्ममा मुख्य भूमिकामा अभिनय गरेको छ ।

फिल्ममा समेत अनमोल र कोकोलाई साथीको रुपमा हेर्न पाइन्छ । कोको र अनमोल घरमा समेत मिल्ने साथी हुन् । निर्देशक झरना थापाले कोकोलाई मुख्य भूमिकामा लिइएको बताइन् । ‘पात्रको रुपमा कोकोको भूमिका महत्वपूर्ण छ’ झरनाले नेपाल प्रेसलाई भनिन् ।

यति मात्र हैन, कोकोले एनसेलको विज्ञापनमा समेत अभिनय गरेको छ । कुकुरलाई अनमोलले नै तालिम दिएका हुन् । आफूले भनेको बाहेक कोकोले अरुले भनेको नमान्ने अनमोल बताउँछन् । जेहोस्, मानिसको पुरानो साथी फिल्मको पर्दामा समेत साथीकै रुपमा देख्न पाइनु रोचक कुरा हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर