५ महिनाभित्र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन्छ: क्यान महानिर्देशक – Nepal Press

५ महिनाभित्र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन्छ: क्यान महानिर्देशक

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अबको ५ महिनामा अन्तर्राष्ट्रिय उडान हुने बताएका छन् ।

बुधबार सञ्चारकर्मीसँगको कुराकानीका क्रममा महानिर्देशक क्षेत्रीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टेक्निकल स्टाटस (प्राविधिक स्थिती) को काम लगभग सकिसकेको बताउँदै अबको ५ महिनामा अन्तर्राष्ट्रिय उडान हुने बताएका हुन् ।

उनले अबको एक महिनामा केलिब्रेशन फ्लाइट (परीक्षण उडान) गर्ने र त्यसबीचमा आफ्ना आन्तरिक गृहकार्य सम्पन्न गर्ने लक्ष्य लिएको बताए ।
महानिर्देशक क्षेत्रीले नाकाबन्दी, भूकम्प, आन्तरिक गृहकार्यमा ठेकेदारले पैसाको जोहो गर्न नसक्नु, स्थानीय निकायसँगको समन्वय गर्न नसक्नु, कोभिड १९, केलिब्रेशन फ्लाइट हामीसँग नभएर विदेशीलाई पैसा तिरे पनि गुहार्नुपर्ने कारणले ढिलो भएको बताए ।

उनले एरो थाइले पहिलेको सहमतिअनुसार नै परीक्षण उडान गरिदिने भएको जानकारी दिँदै अब सस्तो र राम्रो कम्पनीलाई छानेर परीक्षण उडान भर्ने बताए ।

महानिर्देशक क्षेत्रीले भने,‘कति वटा एयरलाइन्स आउँछ त्यो पछिको कुरा हो तर वि विल बी रेडी । कुशीनगर विमानस्थल र हाम्रोमा दाँज्न मिल्दैन, उनीहरुको आफ्नै श्रोतसाधन छ, समस्या छैन । आन्तरिक कलहमा अल्झिनु परेन । हाम्रो केसमा नाकाबन्दी, भूकम्प, आन्तरिक गृहकार्यमा ठेकेदारले पैसाको जोहो गर्न नसक्नु, स्थानीय निकायसँगको समन्वय गर्न नसक्नु, कोभिड १९, केलिब्रेशन फ्लाइट हामीसँग नभएर विदेशीलाई पैसा तिरे पनि गुहार्नुपर्ने कारणले ढिलो भयो, अब सबै प्रक्रिया लगभग कम्प्लिट भएको छ, थाइल्याण्डले केही दिनअघि एउटा चिठी पठाएको छ, कोरोनाको कारण आउन सकेनौँ, अरुसँग गर्दा पनि हुन्छ भनेको छ हामीले बोर्डमा राखेका छौँ, अहिले एरो थाइले पनि हामी पूर्व सहमतिअनुसार नै काम गर्छौं भनेको छ ।’

महानिर्देशक क्षेत्रीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको फिजिकल एन्फास्ट्रक्चरको काम ८० प्रतिशत सकिएको बताए । उनले सरकारले रिट्ठेपानी डाँडा काट्ने काम गरिदिए र ल्याण्डफिल्ड बनाइदिए अबको ६ महिनामा परीक्षण उडान हुने बताउँदै एक वर्ष भित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि अन्तर्राष्ट्रिय उडान भर्न सकिने पनि बताए ।

महानिर्देशक क्षेत्रीले युरोपियन युनियन (इयू)ले नेपालको एयरलाइन्सलाई ब्ल्याक लिस्ट (कालोसूची)मा राखेकोले त्यसबाट हटाउन आफ्नो नेतृत्वमा काम भइरहेको उनले दाबी गरे । उनले आफ्नो कार्यकालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन योग्य बनाउने बताए।

महानिर्देशक क्षेत्रील थपे,‘पोखरा इन्टरनेशनल एयरपोर्टको स्टाटस सिभिल एब्रेशनको पार्टबाट फिजिकल एन्फास्ट्रक्चर डेभलपमेण्टमा झन्डै ८० प्रतिशत भन्दा धेरै सकिसकेका छौँ, फाइनान्सियल ७० प्रतिशत बढी काम सकिसकेको छ, २० प्रतिशत अरुकामहरु जति नै ढिलो गरेपनि ६ महिनामा सकिन्छ, एउटा रिट्ठेपानी डाँडा, ल्याण्डफिल्ड साइटको कामले अड्काएको छ, एक वर्षमा सञ्चालनमा आउँछ, मेरो कार्यकालमा भैरहवा विमानस्थललाई सञ्चालन योग्य बनाउँछु, पोखरालाई एउटा ट्रयाकमा ल्याउँछु, इयूले ब्ल्याक लिस्टमा राखेको थियो अब हट्नेछौँ, त्यही अनुसार काम गरिरहेका छौँ।’

महानिर्देशक क्षेत्रीले कोरोनाका कारणले काममा केही असर गरेपनि काम नरोकिएको बताए । केही असर गरेको छ, केही काम रोकिएका छन् तर काम अब सुचारु भइसकेको छ केही ढिला मात्रै भएको हो । पोखरा विमानस्थलमा भैरहवा भन्दा राम्रो विमानस्थल बन्न लागेको र निकट भविष्यमै सञ्चालनमा आउने उनी बताउँछन् ।

उनले निजगढ विमानस्थलको काम पनि शुरु भइसकेको र लगानीको जोहो कसरी गर्ने ? कुन मोडलमा गर्ने ? भन्ने निर्णय गरे प्राधिकरण तयार रहेको समेत बताए । महानिर्देशक क्षेत्रीले अहिले नेपालमा हरेक जिल्लामा विमानस्थल चाहिन्छ भन्ने कुरा विकास भएको भएपनि यो सम्भव नभएको उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर