कोप-२६ लाई पहिलो सम्बोधन गर्दै जोन्सनले भने : विश्व नेताहरु ‘जेम्स बन्ड’ बन्ने बेला आइसक्यो – Nepal Press

कोप-२६ लाई पहिलो सम्बोधन गर्दै जोन्सनले भने : विश्व नेताहरु ‘जेम्स बन्ड’ बन्ने बेला आइसक्यो

ग्लास्गो । स्कटल्यान्डमा कोप-२६ अन्तर्गत विश्व नेताहरुको जलवायु सम्मेलन औपचारिकरुमा सुरु भएको छ । सम्मेलनलाई पहिलो सम्बोधन गर्दै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले विश्व नेताहरुलाई स्वागत गरेका छन् ।

जोन्सनले विश्वकै क्रोध र अधैर्यता बढेको उल्लेख गर्दै ग्लास्गो सम्मेललाई मूर्तता दिने थलो बनाउनुपर्ने बताए । ‘हामीले जलवायु संकटको वास्तविक समस्यालाई ग्लास्गो सम्मेलनबाटै समाधान गर्नुपर्छ ।’

विकसित मुलुकले सबैप्रति आफूहरुको कर्तव्य महसुस गर्नुपर्ने र हरित अर्थतन्त्र निर्माणतर्फ अग्रसर हुनुपर्ने खाँचो समेत जोन्सनले औंल्याए । उनले विश्व नेताहरु र फिल्म पात्र जेम्स बन्डबीच तुलना पनि गरे ।

उनले भने, ‘एउटा जासूसले विश्व समाप्त गर्न खोज्ने शक्तिलाई हराउँदै फिल्मको संघर्षलाई अन्त्य गर्छ । दुःखद कुरा यो फिल्म होइन र खतराको जोखिम यथार्थ हो ।’

उनले २ डिग्री तापमानले खाद्यान्न आपूर्ति र तीन डिग्री तापमानले डढेलो र चक्रवातजस्ता विपदलाई निम्त्याउने र चार डिग्रीले सबै सहरलाई बिदा गर्नुपर्ने परिस्थिती आउनसक्ने चेतावनी पनि दिए ।

उनले भने, ‘यो जोखिमलाई अन्त्य गर्न जति ढिला हुन्छ, उति नै हामीले मूल्य चुकाउनुपर्छ ।’ जोन्सनले अहिले प्रविधि र पैसा भएपनि इच्छाशक्ति हुनु महत्वपूर्ण कुरा भएको बताए ।

कोप-२६ सम्मेलनमा सहभागी डेलिगेट्सको औषत उमेर ६० वर्षभन्दा माथि भएको र उनीहरुले सन् २०५० र २०६० सम्म आफूले गर्ने योजना सार्वजनिक गरेको बताउँदै अहिल्यै नजन्मिएको पुस्ताले अहिलेको नेतृत्वलाई मूल्यांकन गर्ने बताए ।

सुरु भएको सम्मेलनलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले पनि सम्बोधन गर्दै तापक्रमलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्न विश्व नेताहरुको ध्यानाकर्षण गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर