आबुधाबी डाइलगमा श्रममन्त्री श्रेष्ठले राखे पाँच बुँदे प्रस्ताव – Nepal Press

आबुधाबी डाइलगमा श्रममन्त्री श्रेष्ठले राखे पाँच बुँदे प्रस्ताव

संयुक्त अरव इमिरेट्सका मानव संशाधन तथा इमिरिटाइजेसन मन्त्रीसँग शिष्टाचार भेटवार्ता

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आवधाबी डाइलगमा पाँच बुँदे  प्रस्ताव गरेका छन् । जसमा वैदेशिक रोजगारबाट फर्किएका नेपाली श्रमिकको सहयोगदेखि कामदारको न्यूनतम तलब रहेका छन् । खाडी मुलुक दुबईको अबुधाबीमा अक्टोबर २५ देखि २९ सम्म आयोजना भएको आबुधाबी डायलगको छैठौँ मन्त्रीस्तरीय बैठकमा मन्त्रीसहितको टोली सहभागि भएर नेपाल फर्किएपछि मन्त्रालयले बैठकमा राखेका विषय सार्वजनिक गरेको हो ।

मन्त्री श्रेष्ठले पाँच बुदाँमा वैदेशिक रोजगारीमा गइ स्वदेश फर्केका कामदारलाई स्वदेशमा नै पुनःएकीकरण गर्न सहयोग गर्ने, स्वच्छ रुपमा कामदार भर्ना प्रकृया सुनिश्चित गर्न कामदार पठाउने मुलुक र प्राप्त गर्ने मुलुकबीच सहकार्य गर्ने, आप्रवासी श्रमिकको कार्यस्थलको सुरक्षा सुनिश्चित गर्ने, आप्रवासी श्रमिकले सिकेको सीपको पहिचान गरी उनीहरुलाई उपयुक्त काममा मात्र लगाउने र कामदारको न्यूनतम तलवमान बढाउने विषयमा ध्यान दिने बैठकमा बताएका हुन् ।

मन्त्री श्रेष्ठले आगामी दुई वर्षका लागि अध्यक्ष राष्ट्रको जिम्मेवारी लिएको मित्रराष्ट्र पाकिस्तानलाई बधाइसमेत दिएका छन् । साथै, अध्यक्ष राष्ट्रले अबुधाबी डायलगमा उठाउने विषयमा समर्थन गर्ने र अन्य सदस्य राष्ट्रबीच निरन्तर सहकार्य गर्ने धारणा पनि उनले राखेका थिए ।

बैठकमा नेपालका तर्फबाट मन्त्रालयका सचिव गौतमले कोभिड–१९ को कारण आप्रवासी श्रमिकले भोगेका समस्याको समाधानका लागि पहल गर्न आप्रवासी श्रमिक आपूर्ति गर्ने देशका प्रतिनिधिलाई अनुरोध गरेका छन् । बैठकमा उनले मित्रराष्ट्र कतार, साउदी अरबिया र मलेसिया सरकारका समकक्षीसँग द्विपक्षीय श्रम सम्झौताका विषयमा मैत्रिपूर्ण छलफल गरका थिए ।

अबुधाबी डायलगमा मन्त्री श्रेष्ठसहित मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, वैदेशिक रोजगार व्यवस्थापन शाखाका प्रमुख थानेश्वर भुसाल र दुबईस्थित नेपाली राजदूतावास अबुधाबीबाट राजदूत कृष्णप्रसाद ढकाल र श्रम काउन्सलर निर्मला थापा पनि सहभागी थिए ।

यसै अवसरमा मन्त्री श्रेष्ठले संयुक्त अरव इमिरेट्सका मानव संशाधन तथा इमिरिटाइजेसन मन्त्रीसँग शिष्टाचार भेटवार्ता पनि गरेका छन् । भेटमा द्विपक्षीय श्रम सम्बन्धलगायत विविध विषयमा छलफल भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विज्ञप्तीमार्फत जानकारी गराएको छ ।

मन्त्रालयले अबुधाबी डायलगको छैठौँ संस्करणमा नेपालको तर्फबाट मन्त्री श्रेष्ठसहितको टोलीको सहभागिताले नेपालको वैदेशिक रोजगार व्यवस्थापनको क्षेत्रमा राम्रो उपलब्धी हासिल भएको पनि विज्ञप्तीमार्फत जानकारी गराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *