म्यानमारको उपहार : यस्तो छ साढे २ अर्बको बुद्धमूर्ति (तस्बिरहरूसहित) – Nepal Press

म्यानमारको उपहार : यस्तो छ साढे २ अर्बको बुद्धमूर्ति (तस्बिरहरूसहित)

रुपन्देही । राष्ट्रिय गौरवको आयोजनमा रहेर निर्माणको अन्तिम चरणमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे २ अर्ब लगानीको बुद्ध मूर्ति अनावरण भएको छ । बहुमूल्य धातु ‘ह्वाइट जेड’बाट बनेको बुद्धमूर्तिको राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गरेकी हुन् ।

लुम्बिनी गार्डेन फाउण्डेसनको समन्वयमा ल्याइएको मूर्ति एक हजार ८ सय किलोग्राम छ । शान्तिका प्रतीक सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विश्वभर प्रचारप्रसार होस् भन्ने उद्देश्यले चार वर्ष पहिले स्पेनमा स्थापना गरिएको लुम्बिनी गार्डेन फाउन्डेसनको सहयोगमा मूर्ति विमानस्थलमा राखिएको हो ।

उक्त मूर्तिको मूल्य दुई करोड १६ लाख अमेरिकी डलर पर्छ । हङकङमै पनि १ ग्राम ‘ह्वाइट जेड स्टोन’ को मूल्य १२ अमेरिकी डलर पर्छ ।

उक्त मूर्ति म्यानमारका खानी उद्योगीले उपलब्ध गराएको भन्दै फाउण्डेसनका महासचिव एकराज गिरीले फाउण्डेसन र नेपाल सरकार कसैको नगद लगानी भने नभएको बताए । म्यान्मारबाट नेपाल ल्याउँदा लाग्ने ढुवानी खर्चवापत १२ हजार अमेरिकी डलर भने फाउण्डेसनले व्यहोरेको हो ।

म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले बनाएको एक दशमलव ९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको पत्थरजडित बुद्धमूर्ति आकर्षक रहेको छ ।

मूर्ति अनावरण कार्यक्रममा स्पेनको एक्स्ट्रेमादुरा प्रदेश सभाका अध्यक्ष ब्लान्सा मार्टिन, डेल्गाडोसहितका विशेष प्रतिनिधिको उपस्थिति रहेको थियो । त्यस्तै कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाण, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलगायतको पनि उपस्थिति रहेको थियो । निर्माण सम्पन्नका क्रममा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापित गर्ने प्रयोजनका लागि म्यान्मारमा बनाइएको बुद्धमूर्ति यहाँ ल्याइएको हो ।

विमानस्थलको प्रस्थान र आगन्तुक भवनको बीचमा बनाइएको चैत्यनजिकै बुद्धमूर्ति प्रतिस्थापन गरिएको गौतमबुद्ध विमानस्थल आयोजनाका प्रमुख ई. प्रबेश अधिकारीले बताए ।

राष्ट्रपतिद्वारा लुम्बिनी गुरुयोजना प्रभावकारी कार्यान्वयनमा जोड

राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध दर्शनलाई मानवले दैनिक जीवनमा आत्मसाथ गर्दै अगाडि बढ्न सक्दा विश्वमा दिगो शान्ति हुने बताएकी छन् ।

लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थलको रूपमा विकास गर्न गुरुयोजनाको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको उनले बताइएकी छन् ।

भैरहवामा बुद्ध मूर्ति अनावरण कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले लुम्बिनीको ऐतिहासिक पुरातात्विक महत्वका स्थान र सामग्रीहरुको अध्ययन, अनुसन्धान र संरक्षणसहित सवै सम्पदालाई उजागर गर्नुपर्ने उनले बताइन् ।

उनले बुद्ध संस्कृतिसँग जोडिएका दिगो आर्कषण र मौलिक पूर्वाधारको विकास लुम्बिनीमा गर्नुपर्ने बताइन् । जसका कारण स्वदेशी र विदेशी पर्यटकलाई न्यानो आतिथ्यता दिन सकिने उनको भनाइ छ ।

राष्ट्रपति भण्डारीले विमानस्थलमा बुद्धमूर्ति स्थापनाले लुम्बिनीमा नयाँ आयम थपिएको उनको भनाइ थियो । ‘महाकरुवा बुद्धमूर्तिले विश्वभरका लुम्बिनीका दर्शनार्थीलाई करुणा र अहिंसाको सत्कर्ममा हिँड्ने सन्देश पुर्‍याउन सहयोग पुग्नेछ’ राष्ट्रपति भण्डारीले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर