लुम्बिनी क्षेत्रका ४ नगरपालिका र स्पेनको काथेरेस नरपालिकाबीच भगिनी सम्बन्ध स्थापना – Nepal Press

लुम्बिनी क्षेत्रका ४ नगरपालिका र स्पेनको काथेरेस नरपालिकाबीच भगिनी सम्बन्ध स्थापना

रुपन्देही । लुम्बिनी क्षेत्रभित्र पर्ने रुपन्देही, कपिलवस्तु र नवलपरासीका ४ नगरपालिकाले स्पेनको काथेरेस नगरपालिका, काथेरेस प्रादेशिक सरकार संस्कृति पर्यटन नथा खेलकुद मन्त्रालयसँग भगिनी सम्बन्धमा विस्तार गरेका छन् ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अगुवाईमा बौद्ध जन्मस्थल रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका र मावली क्षेत्र देवदह नगरपालिका, कपिलवस्तु नगरपालिका र रामग्राम नगरपालिकाबीच कपिलवस्तुको प्राचीन तिलौराकोट दरवार क्षेत्रमा भगिनी सम्बन्ध स्थापनाका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

बुद्धले २९ वर्ष विताएको प्राचीन तिलौराकोट दरवार क्षेत्रमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र स्पेनको काथेरेस प्रादेशिक सरकारका प्रतिनिधिहरुको रोहवरमा दुवै देशका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरु बीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सहमति पत्रमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी, देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्री, कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह र रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले हस्ताक्षर गरेका हुन् । त्यसैगरी स्पेन सरकारको काथेरेस नगरपालिकाका प्रमुख, काथेरेस प्रदेश सरकारका प्रतिनिधिहरुले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्पेन र नेपालबीचको सम्बन्ध प्रगाढ बनाउन र दुवै देशबीच सम्बन्ध बढाएर विकास निर्माणको क्षेत्रमा समेत फड्को मार्न यस्तो भगिनी सम्वन्धले ठूलो सहयोग गर्ने अपेक्षा गरिएको बताए ।

स्पेनस्थित लुम्विनी गार्डेन फाउण्डेशनको पहलमा नेपालका बौद्धस्थल रहेका ३ नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाका लागि प्रयास शुरु भएको हो ।

संसारभर अहिंसा, शान्ति, सद्भाव र भाईचाराको सन्देश प्रवाह गर्ने शान्तिका अग्रदुत गौतमबुद्धको भूमिमा आएर बुद्ध नगरहरुसंग भगिनी सम्वन्ध राख्ने कार्यको शुभारम्भ गर्न पाउंदा आफूहरु निकै खुशी रहेको काथेरेस नगरका प्रमुख, प्रदेश सरकारका प्रतिनिधिहरुले बताएका छन् ।

स्पेनका काथेरेस नगरपालिकाका प्रमुख तथा प्रनिनिधि र प्रदेश सरकारको प्रमुख तथा प्रतिनिधिहरुले शाक्यमुनि बुद्धका पिता राजा शुद्धोधनको प्राचीन राजदरवार क्षेत्र, सम्राट अशोकले स्थापना गरेको अशोक स्तम्भलगायतका बौद्धकालीन स्थलहरुको अवलोकन गरेका थिए ।

स्पेनको काथेरेस नगरसग भगिनी सम्बन्ध स्थापनाको सहमतिपत्रका हस्ताक्षर हुँदै गर्दा यहाँका बौद्धस्थल आसपासका क्षेत्रमा विकासको फड्को मार्न सकिनेमा कपिलवस्तु, रुपन्देही र नवलपरासीका नगर प्रमुखहरु आशावादी बनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर