विद्युतीय सवारी साधनको प्रयोग गर्न ऊर्जामन्त्रीको आग्रह (भिडिओे) – Nepal Press

विद्युतीय सवारी साधनको प्रयोग गर्न ऊर्जामन्त्रीको आग्रह (भिडिओे)

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले विद्युतीय सवारी साधन प्रयोग गर्न आह्वान गरेकी छन् । मन्त्री भुसालले मुलुकको व्यापार घाटालाई कम गर्न, मुलुकको राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन र स्वच्छ वातावरणसहितको समुन्नत राष्ट्र निर्माण गर्नका लागि पनि अब सबैले विद्युतीय सवारी साधनको प्रयोग गर्नुपर्ने बताएकी छन् ।

शनिबार ललितपुरको जावलाखेलबाट विद्युतीय सवारी साधन र्‍यालीको शुभारम्भ गर्दै उनले विद्युतीय सवारी साधन सबैभन्दा सस्तो हुने र त्यसका लागि आवश्यक विद्युत मुलुक भित्रै पर्याप्त मात्रामा रहेको बताइन् । मन्त्री भुसालले पेट्रोलियम पदार्थको खरिद्बाट मुलुकमा व्यापार घाटा हुने गरेको उल्लेख गर्दै त्यसलाई न्यूनिकरण गर्दै लैजान पनि विद्युतबाट चल्ने सवारी साधनको प्रयोग आवश्यक रहेको स्मरण गराइन् ।

उनले भनिन्, ‘विद्युतमा हामी आत्मनिर्भर भएका छौं । देशको सबै क्षेत्रमा चाहे घरायसी होस्, चाहे उद्योग र यातायात क्षेत्रका लागि होस् । त्यसलाई दिने ऊर्जा हामीसँग छ । दोस्रो हाम्रो ठूलो व्यापार घाटा पेट्रोलियम पदार्थको कारणले भएको छ । २ खर्बभन्दा बढि पेट्रोलियम पदार्थको आयात हुन्छ । ४० अर्बभन्दा बढि एलपी ग्याँस आयात हुन्छ । यसलाई केबल विस्थापित गर्न सक्ने भनेको विद्युतीय ऊर्जा हो । त्यसैले यो असन्तुलित व्यापार घाटालाई कम गर्न र राष्ट्रिय अर्थतन्त्रको विकासमा योगदान पुर्‍याउन सबैले विद्युत सवारी साधनको प्रयोग गरौं र राष्ट्रिय अर्थतन्त्रमा योगदान गरौं । यो आफैंमा सस्तो छ ।’

कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल भित्रै इनर्जीको खपत गर्न र नेपाललाई आत्मनिर्भर बनाउन विद्युतीय सवारी साधनको प्रयोग गर्न ढिलाई गर्न नहुने स्पष्ट पारिन् । उनले विद्युतीय सवारी साधन संचालनका लागि सबै ठाउँमा चार्जिङ स्टेशनहरुको व्यवस्था हुने बताइन् ।

र्‍यालीमा मुलुकलाई आत्मनिर्भर बनाउन, स्वच्छ वातावरणको निर्माण गरी मुलुकलाई समृद्ध बनाउन विद्युतीय सवारी साधन संचालन गर्न उपयुक्त हुने खालको सन्देशसहितको प्लेकार्डहरु प्रर्दशन गरिएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर