पेसेवर लुटेरा पासवान महोत्तरीबाट पक्राउ – Nepal Press

पेसेवर लुटेरा पासवान महोत्तरीबाट पक्राउ

जनकपुरधाम । प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका पेसेवर लुटेरा विश्वनाथ पासवानलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । स्थायी घर सर्लाहीको लालबन्दी नगरपालिका २ पुनरवास भएका करिब ४० वर्षीय पासवान महोत्तरीको सोनमा गाउँपालिका ३ रघुनाथपुरबाट पक्राउ परेका हुन् ।

पासवान सिरहा, धनुषा, महोत्तरी, सर्लाहीदेखि बुटबलसम्म हतियारको बलमा लुटपाटको आतंक मच्चाएका पेसेवर लुटेरा भएको प्रहरीको दावी छ । पछिल्लो समय ०७८ असार ३ मा महोत्तरीको सम्सी गाउँपालिका १ पर्सा बजारमा बिरेन्द्र साहले आफ्नो घरमा संचालन गरेको राजिव ज्वेलर्स सुन चाँदी पसलमा लुटपाट गरेका थिए । प्रहरीका अनुसार सुनचाँदी पसलमा लुटपाट गरेको घटनाको मुख्य योजनाकार पासवान हुन् ।

घरको पछाडीबाट पर्खाल नाघी घरभित्र प्रवेश गरी सुनचाँदी पसलका सञ्चालक बिरेन्द्र साहको श्रीमती शुशिला देवी, उनका छोराहरू शम्भु साह, राजिव साह र छोरी कंचन कुमारीमाथि लुटेराले रड प्रहार गरी घाईते बनाएका थिए । साथै सुनचाँदी पसलका सञ्चालक साहको ढाडमा गोली प्रहार गरी ८ लाख ९७ हजार २ सय बराबर नगद तथा सुनचाँदीका गरगहना डकैतहरूले लुटपाट गरी लगेका थिए ।

उक्त घटनाको अनुसन्धान गर्दै जाँदा संलग्न व्यक्तिहरू मध्येका मुख्य योजनाकार पासवान रहेको प्रहरीको अनुसन्धानले देखाएको थियो । त्यसपछि प्रहरी उनको खोजी तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ । खोजलासको क्रममा पासवानलाई रघुनाथपुरमा घुमघाम गरिरहेबा बेला पक्राउ गरिएको महोत्तरी प्रहरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए । उनले पासवानमाथि अनुसन्धान भइरहेको र कानून बमोजिम कारबाही हुने बताए ।

पासवानले यअघि घटाएका अपराधिक घटनाहरू:

  • – ०६६ वैशाख ७ मा सर्लाहीमा राम किशोर महतो समेतलाई रोकी एक समूहले महतो साथबाट नगद ७ लाख ५० हजार रुपैयाँ लुटिएको थियो । उक्त घटनामा संलग्न एकजना हतियार र नगद १० लाख ९७ हजार १२० रुपैयाँसहित पक्राउ परेका थिए । उक्त घटनामा पासवान पनि संलग्न रहेको र सर्लाही प्रहरीमा उनीमाथि डाँका तथा हातहतियार सम्बन्धी मुद्दा दर्ता छ ।
  • – ०६४ भदौ १९ मा लालबन्दीबाट नयाँरोड हरीवनतर्फ गईरहेको ना. २ ख. ८७८५ नम्बरको ट्रकमा पासवानसहितका व्यक्तिले बम प्रहार गरी क्षति पुर्याएका थिए । उक्त घटनामा संलग्न पासवानसहितका व्यक्तिमाथि ईलाका प्रहरी कार्यालय हरीपुर, सर्लाहीमा बम बिष्फोटक शीर्षकमा मुद्दा चलेको छ ।
  • – ०७३ असार १ मा सिरहाको मिर्चैया नगरपालिका ७ का रामेश्वर पासवान समेतका घरमा हातहतियार देखाएर २ लाख १७ हजार ८२५ रूपैयाँ बराबरको सुनचाँदी लगायतका समान लुटेको आरोपमा पासवान सहितका व्यक्तिमाथि सिरहा प्रहरीमा डाँका तथा हातहतियार शीर्षकमा मुद्दा चलेको छ ।
  • – सिरहाको धनगढीमाई नगरपालिका ४ का प्रदिप कुमार साहको घरमै प्रवेश गरी उनलाई कुटपिट गर्नुका साथै अपहरण गर्न खोज्दा स्थानीय मानिसहरूले देखेपछि गाडी चढेर भागेको पासवानमाथि ईलाका प्रहरी कार्यालय गोलबजारमा अपहरण वा शरीर बन्धक मुद्दा चलेको छ । उक्त घटनामा सन्तोष पासवान पक्राउ परेका थिए ।
  • – ०६४ कार्तिक २० मा चन्द्रमणी कण्डेलको घरबाट नगद ३० हजार, सुनको गरगहना ८ तोला, क्यामरा, मोबाईल लगायतका समान लुटेर लगेका आरोपमा ईलाका प्रहरी कार्यालय बुटबलमा पासवानमाथि चोरी मुद्दा दर्ता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर