२८ दिनपछि जेलबाट छुटेर घर पुग्दा आर्यनलाई मन्नतमा भव्य स्वागत : देश छाड्न अदालतको रोक – Nepal Press

२८ दिनपछि जेलबाट छुटेर घर पुग्दा आर्यनलाई मन्नतमा भव्य स्वागत : देश छाड्न अदालतको रोक

मुम्बइ । अन्ततः २८ दिन लामो हिरासत बसाइपछि बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन उनको घर मन्नत फर्किएका छन् । लागूऔषध मुद्दामा जेल परेका उनलाई बिहीबार बेलुका मुम्बइ उच्च अदालतले १४ वटा सर्त राख्दै धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

आर्यनलाई नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले २ अक्टोबरमा पानीजहाजमा आयोजना गरिएको ड्रग्स पार्टीबाट पक्राउ परेको थियो । यस प्रकरणमा अन्य २० जना पनि पक्राउ परेका छन् र आर्यन तीमध्ये एक हुन् ।

मिडियाको बाक्लो उपस्थितीमा उनी आर्थर रोडस्थित जेलबाट बाहिरिएका हुन् । उनका बुवा शाहरुख छोरालाई लिन जेलमै पुगेका थिए । बाहिरिने बितिकै उनी गेट बाहिर पार्क गरिरहेको रेन्ज रोभर कारमा बसे । उनी केही बेरअघि मन्नतस्थित घरमा पुगेका छन् । उनको स्वागतमा मन्नतबाहिर सयौं प्रशंसक जम्मा भएर स्वागतमा आतसबाजी गर्दै नाराबाजी पनि गरेका थिए । ‘राजकुमारलाई स्वागत छ’ लेखिएको ब्यानर समेत प्रदर्शन गरिएको थियो ।

आर्यनको रिहाइ र मन्नतसम्मको उनको यात्रालाई भारतीय संचारमाध्यमले प्रत्यक्षप्रसारण गरेका थिए । अदालतले शुक्रबार नै रिहा गर्न भनेपनि अदालती प्रक्रिया लम्बिँदा उनले शुक्रबारको रात पनि जेलमै बिताएका थिए । परेका आर्यनको साथी अरबाज आज साँझसम्म रिहा हुने उनका बुबा अस्लम मर्चेन्टले जानकारी दिएका छन् । अभिनेत्री जुही चावलाले सत्र अदालत पुगेर आर्यनको जमानतमा हस्ताक्षर गरेकी थिइन् । जुही शाहरुखकी सुरुआती फिल्मकी सह–कलाकार हुन् भने शाहरुखको क्रिकेट क्लब कोलकाता नाइट राइडर्सको सह–स्वामित्व पनि उनीसँग छ ।

आर्यन शुक्रबार जेलबाट छुट्ने अपेक्षा गरिएकाले मन्नतको घर भित्र र बाहिर उत्सवको माहोल सिर्जना भएको थियो । पुरै दिन फ्यानहरूको बाक्लो भीड थियो । आर्यनको पर्खाइमा मानिसहरु आ–आफ्नै तरिकाले उत्सव मनाइरहेका छन् । भीड अनियन्त्रित हुन नदिन मन्नतबाहिर प्रहरी समेत परिचालन गरिएको छ ।

अदालतले आर्यनसामु १४ वटा सर्त राखेको छ जसलाई उल्लंघन गरिए जमानत रद्द गर्ने भनिएको छ । यी सर्तमा एक लाखको मुचुल्का भर्नेदेखि लिएर भविष्यमा यस्तो कार्यमा संलग्न हुन नपाइने सर्त समेत छन् । सबै अभियुक्तलाई पासपोर्ट अदालतमा समेत बुझाउन भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर