विरलै हुने कुस्ती हेर्न ओइरिन्छन् दर्शक (तस्वीरहरू) – Nepal Press

विरलै हुने कुस्ती हेर्न ओइरिन्छन् दर्शक (तस्वीरहरू)

जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिका ९ गोठकोयलपुरमा बुधाबारदेखि परम्परागत खेल कुस्ती भइरहेको छ । कुस्तीको उद्घाटन लोसपा नेता तथा पूर्वमन्त्री उमाशंकर अरगरियाले गरेका थिए । पछिल्लो समय फाटफुट मात्रै प्रतिस्पर्धा हुने गरेको कुस्ती हेर्न उर्लिएका दर्शकको उपस्थिति बाक्लो थियो । करिब ३ घण्टासम्म कुस्ती भइरहँदा कोही दर्शले हलचल गरेरनन् । एकनास कुस्तीको मजा लिइरहे ।

कुस्ती हेर्न उर्लिएको दर्शकको भीडमा भेटिए, उमेरले ४० कटिसकेका सिरहा सदरमुकाम घर बताउने रामनारायण यादव । कुस्ती कस्तो लाग्यो भन्ने जिज्ञासामा उनले भने, ‘बडा मज्जा आयो । म जहाँ कुस्ती हुन्छ, त्यहीँ पुग्छु ।’

करिब ५ किलोमिटर हिँडेर कुस्ती हेर्न आएको बताउँदै उनले भने, ‘विगतमा कुस्ती हेर्न त महोत्तरी र सप्तरीसम्म पुगेको छु ।’

‘कुस्ती मजेदार खेल हो, तर अब लोप हुने अवस्थामा पुगेको छ,’ उनी भन्छन्, ‘पहिले गाउँ–गाउँमा पहलवान हुन्थे । तर अब कुस्तीको आयोजना गर्दा भारतबाट भाडामा पहलवान ल्याउनुपर्छ ।’

यादव जस्तै हजारौं पारखी कुस्ती हेर्न टाढा–टाढाका गाउँबाट गोठकोयलपुर आएका थिए । लोप हुने अवस्थामा पुगेपछि मधेसको शान मानिने कुस्तीको क्रेज बढिरहेको छ । मेला, महोत्सव तथा चाडपर्व रमझम बनाउन लाखौं खर्चेर कुस्तीको आयोजना गर्ने चलन छ । तर विगत जस्तो सक्कली प्रतिस्पर्धा हुँदैन । भाडाका पहलवानहरू आपसमा नक्कली अर्थात् नाटकीय ढंगले प्रस्तुत हुन्छ र दर्शकलाई मनोरञ्जन दिने प्रयत्न गर्छन् ।

गोठकोयलपुरमा महादेव मन्दिरमा शिव लिङ्ग स्थापना गरिएको अवस्थामा कुस्ती आयोजना गरिएको हो । मेला समितिका रुपेश गोहिबार भन्छन्, ‘कुस्ती आयोजना गर्दा हजारौं दर्शक ओइरिन्छन् र मेला जम्छ भन्ने कुरा भयो । त्यसैले तीन दिनका लागि १ लाख ७५ हजार खर्चेर भारतबाट ३० पहलवान ल्याएका छौं । उनीहरूको टिममा केहि नेपाली पनि छन् ।’

कुस्तीको उद्घाटन गरेको पूर्वमन्त्री अरगरियाले कुस्तीको संरक्षण आवश्यक रहेको बताए । ‘कुस्ती खेल र पहलवानको संरक्षण राज्यले गर्नुपर्छ । राज्यकै वेवास्ताका कारण कुस्ती करिब करिब लोप भइसकेको छ,’ मन्त्रीले भने, ‘कुस्तीका लागि पहलवान भारतबाट भाडामा ल्याउनु विडम्बना हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *