गौरीगंगाको एमाले पार्टी कार्यालय प्रशासनको कब्जामा, सिडिओ दलको कार्यकर्ता बनेको आरोप – Nepal Press

गौरीगंगाको एमाले पार्टी कार्यालय प्रशासनको कब्जामा, सिडिओ दलको कार्यकर्ता बनेको आरोप

कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका– १ चौमालास्थित नेकपा एमाले पार्टी कार्यालयलाई जिल्ला प्रशासन कार्यालय कैलाली कब्जामा लिएको छ । एमालेको पार्टी कार्यालयलाई नेकपा एकीकृत समाजवादीले पनि दावी गरेको थियो ।

सोमबार एमाले केन्द्रीय सदस्य तथा कैलालीकी सहइञ्चार्ज लीला भण्डारीले उक्त कार्यालय उद्घाटन गरेकी थिइन् । त्यसलगत्तै नेकपा एकीकृत समाजवादीले तालाबन्दी गरेपछि विवाद बढेको हो ।

मंगलबार एमालेले ताला फोडेको थियो । त्यसलगत्तै जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरीले तालाबन्दी गरेको हो ।

एमालेका नेता कार्यकर्ताहरूले कार्यालयमा लगाइएको ताला फोडिसकेपछि प्रशासनले कब्जामा लिएको एमाले गौरीगङ्गा संयोजक शान्ति सिंहले बताइन् । ‘हामीले हाम्रो पार्टी हो, अरू कसैले कब्जा गर्न खोजे प्रशासनले सहजीकरण गर्नु पर्छ’ उनले भनिन्, ‘प्रशासनले नै हाम्रो कार्यालय कब्जा गरेको छ । ’

नेकपा एमालेका कैलाली इन्चार्ज तथा प्रतिनिधिसभा सदस्य नारदमुनि रानाले पनि प्रमुख जिल्ला अधिकारीकै निर्देशनमा एमाले पार्टी कार्यालय प्रशासनले कब्जा गरेको बताए ।

‘भर्खरै आएका नयाँ सिडिओले पार्टीको कार्यकर्ता जस्तो व्यवहार देखाएका छन्’ उनले भने ‘सम्बन्धित पार्टीलाई पार्टी कार्यालय दिनुपर्नेमा सिडिओकै निर्देशनमा तालाबन्दी गर्नु निन्दनीय छ ।’ उनले सरकारको रवैयामा सिडिओले एमालेमाथि दमन गर्न खोजेको बताए ।

प्रमुख जिल्ला अधिकारी किरण थापाले भने एमाले र नेकपा एसका कार्यकर्ताका बीचमा भवन प्रयोगका विषयमा विवाद हुँदा झडपको खतरा बढेकाले प्रशासनले नियन्त्रणमा लिएको बताए । ‘हाम्रो काम कार्यालय बाडफाट गर्ने होइन’ उनले भने, ‘मुठभेड नहोस् भनेर त्यस्तो गरिएको हो ।

मंगलबार प्रमुख जिल्ला अधिकारी थापाको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले दुवै पक्षलाई भवन प्रयोग गर्न नदिने निर्णय गर्दै ताला लगाएको हो ।

यता नेकपा एकीकृत समाजवादीले पनि ठूलो विवाद नरहेको जनाएको छ । सामान्य विवादमा ठूलो लफडा गर्नु उपयुक्त नरहेको नेकपा एकीकृत समाजवादीका नगर उपसचिव गणेश साउदले बताए ।

‘भोलि उहाँहरू (एमाले)ले नै लैजानु होला । यहाँ लड्नुपर्ने कुरा केही छैन ’ उनले भने ।

पार्टी कार्यालयमा लगाएको ताला एमालेका कार्यकर्ताहरूले फोडेपछि प्रहरीले पुन तालाबन्दी गरेको उनी बताउँछन् । उनले उपल्लो तहबाट यसको समाधान खोज्नुपर्ने बताए ।

पार्टी कार्यालयमा तालाबन्दी गरेको नेकपा एकीकृत समाजवादीले उक्त कार्यालय एमालेकै रहेको स्वीकार गरेको छ । यता प्रशासनले भने सम्बन्धित पार्टीलाई कार्यालय व्यवस्थापन गर्न दिनुभन्दा कब्जा गरेपछि थप विवाद बढ्ने देखिएको छ ।

अहिले कार्यालयमा प्रहरीले सुरक्षा दिइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर