देउवा भन्छन्- हमाल हाम्रो पार्टीको मान्छे हो, बिचरा राजीनामा दिए – Nepal Press

देउवा भन्छन्- हमाल हाम्रो पार्टीको मान्छे हो, बिचरा राजीनामा दिए

परमादेश जारी गर्ने सबैले राजीनामा दिनुपर्छ भन्नु गैरजिम्मेवार

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले न्यायालयका विषयमा उठेका सवालहरूबारे सत्तारुढ गठबन्धनमा छलफल गर्ने बताएका छन् । प्रधानन्यायाधीशको कोटामा मन्त्री बनाइएको भनिएका गजेन्द्रबहादुर हमाल आफ्नो पार्टीको मान्छे भएको देउवाले स्पष्ट पारे ।

हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीले परमादेश गर्ने सबै न्यायाधीशलाई राजीनामा गर्नुपर्ने भनी दिएको अभिव्यक्तिको उनले आलोचना गरे ।
नेपाल तरुण दलले बुधबार बालुवाटारस्थित आफ्नै सरकारी निवासमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै देउवाले अदालतमा देखिएको समस्या समाधान गर्ने काम अदालतकै भएको बताए ।

देउवाले भने, ‘परमादेश ल्याउने सबैलाई हटाउनु पर्दछ भन्ने गैरजिम्मेवार कुरा गर्नु उचित हुँदैन जस्तो लाग्छ मलाई । अरु कुरा धेरै केही भन्नु छैन तपाईंहरूलाई । हाम्रो गठबन्धन पाँच पार्टीको जो छ, जे उठेका सवालहरू छन्- न्यायालय सम्बन्धमा । सरसल्लाह, छलफल गर्नेछौं । यसमा धेरै कुरा छैन । मैले तपाईहरुलाई भनेको भन्यै छु । हमाल हाम्रो पार्टीको मान्छे हो । विचरा, बस्न नसक्ने भएपछि राजीनामा दिए । यो कुरा सिद्धिसकेको थियो, तर कुरा उठाएका उठाएकै छन् । अदालतको बारेमा हामीले धेरै बोल्ने कुरा छैन । अदालतले जे गर्छ, त्यो अदालतको कुरा हो ।’

प्रधानमन्त्री देउवाले परमादेशबाट संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरुले गरेको दाबी गर्दै त्यसको विरोध नगर्न पनि एमाले अध्यक्ष ओलीलाई सचेत गराए ।

उनले नेपाली कांग्रेसको १४ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउने काममा केन्द्रित हुन पनि पार्टीका नेता, कार्यकतालाई आह्वान गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर