टेबल टेनिसको माध्यमबाट लैंगिक चेतना – Nepal Press

टेबल टेनिसको माध्यमबाट लैंगिक चेतना

काठमाडौं । खेल खेल्नकै लागि मात्र हुन्न, यो एक सामाजिक जनचेतनाको माध्यम पनि हो । अहिले काठमाडौंको लैनचोरको टेबल टेनिस प्रशिक्षण केन्द्र र विराटनगरको टेबल टेनिस हलमा साँझ केही किशोरी टेबल टेनिसको विशेष प्रशिक्षणमा छन् ।

यो प्रशिक्षणमा खेलबारे जानकारी मात्र दिने काम हुँदैन, लैंगिक जनचेतना पनि दिइनेछ, अनि भविष्यमा महिला नेतृत्वका लागि प्रेरित पनि गरिनेछ । एक साता लामो यस कार्यक्रमको नाम नै रहेको छ, ‘माइ जेन्डर माइ स्ट्रेन्थ’ ।

अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा भइरहेको यो कार्यक्रम विश्व टेबल टेनिस संघको सहयोगमा भएको हो । यस कार्यक्रममा काठमाडौंमा ३० र विराटनगरमा २० किशोरीको सहभागिता रहेको छ । विराटनगरमा प्रशिक्षक विकेन थापा र काठमाडौंमा प्रशिक्षकद्वय सन्ध्या शाक्य र मुना बासुकलाले कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

सन्ध्या र मुना दुवै पूर्वनेसनल च्याम्पियन हुन् र उनीहरूकै नेतृत्वमा टेबल टेनिसको माध्यमबाट लैंगिक जनचेतनाबारे जानकारी पाउँदा किशोरी खुसी र उत्साहित छन् । त्यति मात्र होइन, पूर्वराष्ट्रिय खेलाडी तथा खेलविज्ञ रिता प्रजापति तथा दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदकधारी सुलोचना सिजख्वाःले उनीहरूलाई समाजमा खेलकुदको महत्वबारे विशेष कक्षा सञ्चालन गरेका थिए । त्यस अवसरमा सहभागीलाई पछि नेतृत्व तहमा जान प्रेरित गरिएको थियो ।

यस्तै किशोरीहरूले सागकै पूर्व स्वर्ण पदक विजेता तथा नेपाली टेबल टेनिसका लेजेन्डरी खेलाडीद्वय सिजरिन शाह र गीता क्षेत्रीबाट अन्तरक्रियाको अवसर पनि पाए । कार्यक्रमको अवसरमा अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज बैद्यले यस प्रकारको कार्यक्रमले किशोरीहरूलाई टेबल टेनिसमा सहभागी भएर आफ्नो व्यक्तिगत जीवनको हरेक मोडमा सफल हुन प्रेरित गर्ने बताए ।

त्यसै अवसरमा राखेप प्रशासन विभागका विभागीय प्रमुख तथा कुलबहादुर थापाले किशोर खेलाडीलाई अनुशासनको महत्वबारे जोड दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर