तिहारअघि सबै जिल्लाको वडा अधिवेशन सक्ने कांग्रेसको तयारी – Nepal Press

तिहारअघि सबै जिल्लाको वडा अधिवेशन सक्ने कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन नै नभएका जिल्लाहरूमा तिहारअघि नै वडा अधिवेशन सम्पन्न गर्ने तयारी थालिएको छ ।

मंसिर ९ गतेदेखि १३ गतेसम्म हुने भनिएको महाधिवेशन प्रभावित हुने निश्चित भएपनि तल्लो तहको अधिवेशन सुचारु गर्नुपर्नेमा शीर्ष तहमा छलफल थालिएको हो । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले आइतबार पाँचथर पुगेर ‘महाधिवेशन २-४ दिन यताउयता हुनसक्ने’बताएका थिए ।

१३ जिल्लामा कांग्रेसको वडा अधिवेशनसमेत हुन सकेको छैन । प्रदेश नम्बर २ का ८ जिल्लासहित डोल्पा, सुर्खेत, कैलाली, बाँके र रसुवामा वडा अधिवेशन भएका छैनन् । तीमध्ये रसुवा र रौतहटको क्रियाशील सदस्यतासमेत टुंगो लाग्न बाँकी छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले तिहारअघि नै बाँकी जिल्लामा वडा अधिवेशन सक्नेगरी कार्यतालिका बनाउन छलफल सुरू गरेको छ । सोमबार बसेको निर्वाचन समितिको बैठकमा तिहारअघि वडा अधिवेशन सक्नेगरी नयाँ कार्यतालिका ल्याउन सहमति जुटेको छ । यद्यपि पार्टीका पदाधिकारीसँगको छलफलपछि मात्रै नयाँ कार्यतालिकाले आकार पाउने छ ।

निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीका अनुसार आज नै शीर्ष नेताहरुसँग परामर्श गरेर नयाँ कार्यतालिका निर्माणको प्रयास भइरहेको छ । ‘अधिवेशन प्रक्रिया सुचारु गर्नेबारे छलफल भएको छ । तिहारअघि सबै जिल्लाको वडा अधिवेशन सक्नेगरी काम थालेका छौं । शीर्ष नेताहरूसँग छलफल गरेर नयाँ तालिका बनाउँछौ’, केसीले नेपाल प्रेससँग भने ।

निर्वाचन समितिमा तिहारअघि वडा अधिवेशन सकेर कात्तिक २७ मा पालिका अधिवेशन, ३० मा क्षेत्रीय अधिवेशन, मंसिर ४ मा जिल्ला अधिवेशन गर्न सकिनेबारे छलफल भएको थियो । यद्यपि सभापतिले नै महाधिवेशन सर्ने संकेत गरेकोले त्यसबारे निर्क्योल गरेरमात्रै तालिका बनाउनुपर्ने निष्कर्षमा निर्वाचन समिति पुगेको छ । सभापति देउवाले समय मिलाए निर्वाचन समितिले आजै छलफल गर्ने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर