कार्यकर्ता रिहाइको माग गर्दै जनकपुरमा जनमत पार्टीको सिठी जुलुस – Nepal Press

कार्यकर्ता रिहाइको माग गर्दै जनकपुरमा जनमत पार्टीको सिठी जुलुस

जनकपुरधाम । आफ्ना कार्यकर्ताको रिहा र पार्टीको केन्द्रीय सचिवालयमा आक्रमण गर्नेमाथि काराबहीको माग गर्दै जनमत पार्टीले आज जनकपुरमा सिठी जुलुस निकालेको छ ।

भ्रष्टाचारको आरोप लगाउँदै जनमत पार्टीका कार्यकर्ताहरुले गत बुधवार जनकपुरस्थित संघीय खानेपानी तथा ढल निकास आयोजना प्रमुख राजेश्वर कुशवाहालाई अर्धनग्न पारेर बजार घुमाएका थिए । सो क्रममा १७ जनालाई पक्राउ गरी धनुषा प्रहरीले मुद्दा चलाएको छ ।

प्रमुख कुशवाहालाई दुव्र्यवहार गरेको विरोधमा इन्जिनियरहरुले जुलुस निकालेर जनकपुरमा रहेको आफ्ना केन्द्रीय कार्यालयमा तोडफोड गरेको पनि जनमत पार्टीको आरोप छ । यो घटनामा संलग्नहरुमाथि कारबाही र पक्राउ परेका आफ्ना १७ कार्यकर्तालाई रिहाइको माग गर्दै जनमत पार्टीले आइतबार ९ दिने आन्दोलनको घोषणा गरेको छ ।

सोही कार्यक्रमअन्तर्गत आज जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरमा जुलुस निकालेका हुन् । कार्यकर्ताको रिहाइ र केन्द्रीय सचिवालयमा आक्रमण गर्नेलाई कारबाही गर्न र भ्रष्टाचारविरुद्ध मधेसका सबै जिल्लामा सिठी जुलुस प्रदर्शन गरिएको पार्टीका केन्द्रीय उपमहासचिव इन्द्रजीत यादवले जानकारी दिए ।

जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले भ्रष्टाचार र बेतिथिविरुद्ध सर्वपक्षीय जनआन्दोलन गर्ने निर्णय पनि गरेको थियो । जनआन्दोलनको तयारी स्वरुप आजबाट पहिलो चरणको आन्दोलन सुरु भएको जनमत पार्टीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर