रन्जित रेको पुस्तकको प्रशंसा गर्दै प्रचण्डले भने: माओवादीबारेको भ्रम तोड्न सहयोगी (भिडिओ) – Nepal Press

रन्जित रेको पुस्तकको प्रशंसा गर्दै प्रचण्डले भने: माओवादीबारेको भ्रम तोड्न सहयोगी (भिडिओ)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि पूर्व भारतीय राजदूत रन्जित रेको नयाँ पुस्तकको प्रशंसा गरेका छन् । सोमबार रेको नयाँ पुस्तक ‘काठमाडौं डिलेमाः रिसेटिङ इन्डिया-नेपाल टाइटज’माथि बहस गर्दै प्रचण्डले पुस्तकले माओवादीबारेको भ्रम तोड्न सहयोग गर्ने बताए।

‘माओवादीहरु भारतले उत्पादन गरेको हो भन्ने भ्रम फैलाउन एउटा तत्काले निकै कोसिस गरेको थियो,’ उनले भने, ‘तर, रन्जित रेले त्यसमा प्रष्ट रुपमा त्यो होइन भन्नु भएको छ। अब त्यो भ्रम तोडिन्छ । भारत सरकारको हामीलाई कुनै पनि सहयोग, प्रोत्साहन केही पनि थिएन ।’

पुस्तकमा नेपालको माओवादी विद्रोह र शान्ति प्रक्रियाबारे व्याख्या गरेको उल्लेख गर्दै प्रचण्डले कतिपयलाई यो मन नपर्ने समेत आशंका गरे। ‘यो पुस्तकमा माओवादी विद्रोह र नेपालको शान्ति प्रक्रियाबारेको व्याख्या कसैलाई मन नपरेको हुन सक्छ,’ उनले भने, ‘गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता मन परेको छैन् ।’

प्रचण्डले माओवादीलाई राजनीतिको मुलधारमा ल्याइएको भन्ने गरिए पनि त्यो गलत भएको दावी गरे । ‘माओवादीलाई मुलधारमा ल्याइयो भन्ने शुरुदेखि नै नेपालमा बहसको विषय छ,’ उनले भने, ‘माओवादीलाई मुलधारमा ल्याइएको हो कि नयाँ मुलधारमा माओवादीले लगेको हो ? को विजेता हो र को पराजित हो राजनीतिक र फौजिरुपले ?’

प्रचण्डले थपे, ‘एकथरीले सजिलै भन्ने गरेका छन् माओवादीलाई हामीले ठिक गरेर ल्यायौं । त्यो गतल हो । हामीले नयाँ धारमा अरुलाई ल्याएको हो।’ उनले नेपालको शान्ति प्रक्रिया विश्वमै मौलिक रहेको भन्दै त्यसलाई चाहिने जति ‘रिक्गनाइज’ गर्न विश्वका शक्ति राष्ट्रहरु कन्जुस्याइँ गरेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर