चुनाव भएको चार वर्षपछि फेरि मतगणना – Nepal Press

चुनाव भएको चार वर्षपछि फेरि मतगणना

जनकपुरधाम । महोत्तरीको मनरा सिस्वा नगरपालिका– १० मा स्थानीय तहको निर्वाचन सकिएको चार वर्षपछि फेरि मतगणना भइरहेको छ । बराबर मत ल्याएका दुई उम्मेदवारमध्ये गोलाप्राथाबाट अध्यक्ष हुन नपाएका स्वतन्त्र उम्मेदवार रमेशकुमार रायले धाँधली भएको भन्दै अदालतमा हालेको मुद्दाको फैसलाअनुसार फेरि मतगणना भएको हो ।

२०७४ असोज २ मा भएको स्थानीय तहको निर्वाचनमा उक्त वडामा नेपाली कांग्रेसका उम्मेदवार अरुण कुमार चौधरी र स्वतन्त्र उम्मेदवार रमेशकुमार रायको समान २६७ मत आएको थियो ।

समान मत आएपछि गोलाप्रथाबाट परिणाम टुङ्गो लगाउने सहमति अनुसार कांग्रेसका उम्मेदवार चौधरी निर्वाचित भए । पराजित स्वतन्त्र उम्मेदवार रायले धाँधली भएको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए ।

उच्च अदालत जनकपुरले ०७५ असार २१ गते नै १५ गतेभित्र पुनः मतगणना गर्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध गोलाप्रथाबाट विजयी चौधरी सर्वोच्च अदालत पुगे ।

सर्वोच्च अदालतले ०७७ चैत ६ मा उच्च अदालत जनकपुरकै आदेशलाई सदर गरिदियो । सर्वोच्च अदालतले उच्च अदालतको आदेश सदर गरेपछि आज पुनः मतगणना भइरहेको छ ।

उक्त वडामा २ हजार २२६ मतदाता छन् । जसमध्ये १ हजार ४३९ मत खसेको थियो । साँझ ६/७ बजेसम्म मतपरिणाम सार्वजनिक हुनसक्ने उच्च अदालतका रजिष्टार खड्गराज अधिकारीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर