एमाले केन्द्रीय कार्यालय च्यासलमा सर्ने, तुलसीलाल स्मृति प्रतिष्ठानसँग सम्झौता – Nepal Press

एमाले केन्द्रीय कार्यालय च्यासलमा सर्ने, तुलसीलाल स्मृति प्रतिष्ठानसँग सम्झौता

काठमाडौं । नेकपा (एमाले)को थापालथलीस्थित केन्द्रीय कार्यालय अब ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा सर्ने भएको छ । थापाथलीमा रहेको हालको कार्यालय सानो भएको कारण एमालेका सबैजसो बैठक तुलसीलाल स्मृति प्रतिष्ठानमै हुने गरेको छ।

एमाले महासचिव ईश्वर पोखरेलका अनुसार अब एमालेले केन्द्रीय कार्यालबाट गर्ने सबै काम त्यहीबाट गर्ने छ। ‘नेकपा (एमाले) र तुलसीलाल स्मृति प्रतिष्ठानकाबीच आज महत्वपूर्ण समझदारी,’ पोखरेलले लेखेका छन्, ‘अब केही समयपछिदेखि नेकपा(एमाले) ले केन्द्रीय कार्यालयबाट सम्पन्न गरिने सम्पूर्ण कामहरू यहींबाट हुनेछन् ।’

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले भने पार्टी कार्यालयका लागि नभइ वाम तथा लोकतान्त्रिक योद्धाको संग्राहलय बनाउन प्रतिष्ठानसँग सहमति भएको बताए । उनका अनुुसार प्रतिष्ठानसँग ५ वर्षका लागि सहमति भएको छ।

धुम्बाराहीस्थित भवन पासाङ ल्हामु स्मृति प्रतिष्ठाबाट गत बैशाख १ गते एमालले पार्टी कार्यालय थापाथली हाइटमा सारेको थियो। अस्थायी प्रयोजनका लागि लिइएको थापाथलीको भवन साँघुरो भएपछि च्यासलस्थित भवनमा सार्न लागिएको हो।

०७२ सालमा गएको भूकम्पले बल्खु भवन भत्काएछि एमालेले धुम्बाराहीका कार्यालय सारेको थियो। मदन नगर बल्खुमा आधुनिक मुख्यालय बनाउन शिलान्यास समेत भएको छ।

नेपाल कम्युनिष्ट पार्टीको ७३ औं स्थापना दिवस तथा लेनिन जयन्तीको अवसर पारेर एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालयको शिलान्यास गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर