दुःखीलाई मलहम लगाउँदै टीकटककी ‘भगवान’ ! – Nepal Press

दुःखीलाई मलहम लगाउँदै टीकटककी ‘भगवान’ !

छोटो समयमै टीकटक क्रेज नेपालमा यति चाँडो बढ्यो कि राजनीतिज्ञदेखि भुइँमान्छे समेत यसबाट अछुतो छैनन् । आफ्ना भावना र सन्देशलाई १५ सेकेन्डदेखि ३ मिनेटसम्मको भिडिओमा कैद गर्ने होड यतिबेला छ । यो चिनियाँ एपको प्रयोग मनोरञ्जनमात्र हैन, त्यो भन्दा पर छ । पछिल्लो पुस्ताले टीकटकको बहुप्रयोग गर्न थालेको छ । समाजसेवा, ब्रान्ड प्रवद्र्धन, सूचना, समाचारदेखि मनोरञ्जनसम्म यो चिनियाँ एपको प्रयोग भैरहेको छ ।

केहीले चाहिँ यसलाई समाजसेवाको प्लेटफर्मको रुपमा विकास गरिरहेका छन् । ‘टीकटक समाजसेवा’ प्रविधिले ल्याएको यो पछिल्लो सामाजिक ट्रेन्ड पनि हो जसलाई पछ्याउने तन्नेरीको संख्यामा वृद्धि भैरहेको छ ।

पोखराकी २४ वर्षिया ठिटी गिविना मगर एक प्रतिनिधि पात्र हुन् जो टीकटकलाई सामाजिक हितमा प्रयोग गर्न व्यस्त छिन् । उनका टीकटक पोस्ट चर्चामा छन् । अधिकांशले यसलाई इन्टरटेनमेन्टको माध्यम बनाएको बेला गिविनाले भने यसलाई सामाजिक हितमा प्रयोग गरेकी छिन् ।

हजारौं लाइक र कमेन्टमार्फत प्रयोगकर्ताले उनको टीकटक समाजसेवालाईरुचाएका छन् । धेरैले कलियुगकी भगवानको उपमा समेत दिएका छन् । पेशाले शिक्षिका समेत रहेकी पोखरा हेम्जाकी गिविना शिक्षणसँगै सामाजिक कार्यमा पनि सक्रिय छिन् ।

स्कुल छुट्टी हुने वित्तिकै गिविना सडक मान्छेको पीडामा मल्हम लगाउन पुग्छिन् । विपन्न, दुःखी, रोगी र वृद्धलाई सघाउन उनले आर्थिक सहयोग गर्छिन् । पैसा दिने उनको आफ्नै स्टाइल छ । जसलाई टीकटकप्रेमीले रुचाएका छन् । यस्तो पोस्टमा आउने कमेन्टले उनलाई फुरुङ्ग बनाउने गरेको छ । सामान्य परिवारमा जन्मेकी उनलाई सामाजिक सहयोग नगरेसम्म निद्रा लाग्दैन ।

बाल्यकालदेखि नै पैसा बचत गरेर विपन्नलाई सहयोग गर्ने उनको स्वभाव थियो । शिक्षण पेशाबाहेक अहिले उनी दुःखी र गरिब खोज्दै हिँड्ने गर्छिन् । उनी कामबाट उब्रिएको समयमा टीकटकमा लाइभ आउँछिन् । टीकटक लाइभ आफ्ना शुभेच्छुकसँग अन्तक्रिया गर्ने प्लेटफर्म पनि हो उनको लागि । कतिपयले यही एपमार्फत उनलाई समस्या सुनाउँछन् र सहयोगको याचना गर्छन् । उनको पोस्ट हेर्नेहरु कतिपय भावुक पनि बन्छन् । टीकटकमा उनलाई चार लाखले पछ्याएका छन् भने २१ मिलियनले लाइक गरेका छन् ।

नेपाल प्रेससँग खुसी साट्दै गिविना भन्छिन्, ‘पहिला कसैलाई इन्सपायर गर्न सक्दिँन थिएँ । अहिले टीकटकबाट सेयर गरेर अरुलाई पनि इन्सपायर गर्न पाएकी छु । क्लास सकेर बाँकी रहेको समयमा दुःखीलाई खोज्दै हिँड्छु ।’

अहिलेको दसैँमा वृद्धवद्धालाई शुभकामना दिँदै उनले कतिपयको घरमै पुगेर पैसा, खाना र कपडा बाँडिन् । उनको टीकटक पोस्टमा कतिपय प्रयोगकर्ताले ‘भगवान खोज्न मन्दिर नभै दुःखीको मनसम्म पुगे भगवान भेटिने’ कमेन्ट गरेका छन् । अर्का एक प्रयोगकर्ता भन्छन् ‘बैनि, हजुरको कुन शब्दले बयान गरुँ, म तपाईंको सबै भिडिओ हेर्छु । आँसु झरेको थाहै पाउँदिन । मेरो नजरमा हजुरजस्तो ब्यक्ति यो संसारमै छैन । हजुरको कामप्रति वर्णन गर्ने शब्द नै छैन ।’

नेपाल प्रेससँग खुसी साट्दै गिविना भन्छिन्, ‘पहिला कसैलाई इन्सपायर गर्न सक्दिँन थिएँ । अहिले चँै टीकटकबाट सेयर गरेर अरुलाई पनि इन्सपायर गर्न पाएकी छु । क्लास सकेर बाँकी रहेको समयमा दुःखीलाई खोज्दै हिँड्छु ।’

बाटोमा भेटिएका वृद्धवृद्धा, दृष्टिविहिन, एक छाकको पर्खाइमा बसेकाहरु, अपांग, बालबालिका र भौंतारिँदै हिँडेकालाई सहयोग गर्ने गरेको उनले सुनाइन् । उनी वृद्ध मानिसहरुको तथ्यांक संकलन गर्छिन् र वृद्धाश्रममा लैजान्छिन् । उनले अहिलेसम्म ५० भन्दा बढि वृद्धवृद्धालाई वृद्धाश्रममा लगिसकेकी छिन् । नाजुक अवस्था भएका, मानसिक सन्तुलन र परिवारि गुमाएकालाई पनि उनले सघाएकी छिन् । आफूले टीकटकमा हालेका वेवारिसे मानिसले परिवार र आफन्त फेला पारेको अनुभव पनि उनीसँग छ ।

टीकटक लाइभमा आउँदा गिविना समाजलाई सघाउन आग्रह गर्छिन् । बाटोमा भेटिएकालाई सक्दो मद्दत गर्न अपिल गर्छिन् । विपन्नलाई सघाउन उनले टीकटकको आम्दानी मात्र हैन, आफ्नो गोजीको पैसा समेत खर्चिने गरेकी छिन् । असहायलाई आश्रय दिन मन्दिर शैलीकै आश्रम निर्माण गर्ने उनको योजना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *