४० वटा कूटनीतिक नियोगमार्फत अनलाइन जनगणना गरिने – Nepal Press

४० वटा कूटनीतिक नियोगमार्फत अनलाइन जनगणना गरिने

काठमाडौँ । पहिलोपटक विदेशस्थित ४० वटा नेपाली दूतावासमार्फत अनलाइन जनगणना गरिने भएको छ । केन्द्रिय तथ्यांक विभागले कूटनीतिक नियोगमार्फत ‘ई-सेन्सस’ अनलाइन जनगणना गर्न लागेको हो । यसका लागि प्रत्येक दूतावासमा एक कर्मचारीलाई सम्पर्क व्यक्ति तोकिएको छ ।

विभागका निर्देशक दुण्डीराज लामिछानेका अनुसार कात्तिक २५ देखि मंसिर ९ सम्म हुने १२ औं राष्ट्रिय जनगणनाका लागि यस्तो पहल गरिएको हो । अहिले विभिन्न मुलुकमा ३० वटा नेपाली दूतावास छन् । न्युयोर्क, जेनेभा, भियनामा स्थायी नियोग छन् । नेपाली महावाणिज्य दूतावास ल्हासा, कोलकाता, हङकङ, जेहाद, न्युयोर्क, भियना, ग्वान्जाओ र छेन्दुमा छन् ।

‘तोकिएका सम्पर्क व्यक्तिलाई भर्चुअल माध्यमबाट तालिम दिइने भएको छ । नियोगमा रहेका कर्मचारी र त्यहीं रहेका परिवारको गणना समेत हुने भएको छ । वेब एप्लिकेसन्समार्फत सम्पर्क व्यक्तिले डाटा इन्ट्री गर्न पाउने भएका छन् ।

गणनाका लागि नियोगमा कार्यरतलाई मूली, परिवार संख्या, शिक्षा, अध्ययन क्षेत्र, प्रजननसम्बन्धी प्रश्न सोध्नुका साथै कोही अपांगता भए त्यसबारे पनि खुलाइनेछ । कार्यरत मुलुक, कामको विवरण, पद आर्थिक कामको संस्थागत क्षेत्र पनि उल्लेख गरिने भएको छ ।

वैदेशिक रोजगारी र अध्ययन गर्न गएका नागरिकको विवरण भने नेपालमा रहेका घरपरिवारबाट लिइनेछ । विदेशमै स्थायी बसोबास गर्ने नेपालीबारे भने तथ्यांकमा उल्लेख नगरिने भएको छ ।

२०६८ को जनगणनाअनुसार विदेशमा रहेकाहरूको जनसंख्या १९ लाख २१ हजार ४ सय ९४ रहेको थियो । यो संख्या वैदेशिक रोजगारी र अध्ययन गर्न जानेको हो, जुन कुल जनसंख्याको ७ दशमलव ३ प्रतिशत थियो । गुल्मी, अर्घाखाँची र प्यूठानको (४४ दशमलव ८१ प्रतिशत) जनसंख्या विदेशमा रहेको देखाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर