बाढी पहिरोको क्षतिको निरीक्षण गर्न पुगेका देउवाले भने: चाँडै राहतको व्यवस्था हुन्छ – Nepal Press

बाढी पहिरोको क्षतिको निरीक्षण गर्न पुगेका देउवाले भने: चाँडै राहतको व्यवस्था हुन्छ

कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरोले पुर्‍याएको क्षतिको निरीक्षण गर्न सुदूरपश्चिम पुगेका छन् । बिहीबार प्रधानमन्त्री देउवा सुर्खेतबाट हेलिकप्टर हुँदै सुदूरपश्चिम आएका हुन् ।

निरीक्षण टोलीमा देउवासहित अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, नेपाली काँग्रेसका नेताहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर छन्।

देउवाले आज एकै दिन बाढी-पहिरो प्रभावित क्षेत्र बझाङको थलारा, चैनपुर, डोटीको दिपायल, बैतडीको ढुङ्गाड , डडेल्धुरा र कञ्चनपुरको निरीक्षण गरेर धनगढी फर्किएका छन् । उनले कञ्चनपुरमा ब्रह्मदेव र महाकाली तटीय क्षेत्रमा हवाई निरीक्षणसमेत गरेका थिए ।

ती सबै क्षेत्रमा प्रधानमन्त्री देउवाले बाढी र पहिरापीडितका लागि चाँडै राहतको व्यवस्था गर्ने बताएका छन्। सुदूरपश्चिममा बाढी र पहिराबाट भएको क्षति र पीडितलाई सम्बोधन हुने गरी गुरुयोजना बनाइने बताए ।

कञ्चनपुरको दोधारा-चाँदनीमा प्रधानमन्त्री देउवाले सुदूरपश्चिम बाढी र पहिराबाट नराम्ररी प्रभावित भएको बताए । सुदूरपश्चिममा बाढी र पहिराका कारण ३१ जनाको मृत्यु भइसकेको छ भने २३ जना बेपत्ता र १७ जना घाइते भएका छन् । प्रधानमन्त्री देउवा भोलि काठमाडौं फर्कने कार्यक्रम रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर