निर्माण व्यवसायमैत्री कानून निर्माण गर्ने मन्त्री झाँक्रीको प्रतिबद्धता


काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले भौतिक पूर्वाधारको विकासमा सहयोग पुग्ने कानून निर्माणका लागि सार्वजनिक खरिद ऐन र निर्माण व्यवसायी ऐन समय सापेक्ष रूपमा पुर्नलेखन हुनुपर्ने बताएकी छन् ।
नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको बिहीबारको भेटमा मन्त्री झाँक्रीले निर्माण व्यवसायी मैत्री कानून निर्माणमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाइन् ।
निर्माण व्यवसायीहरूले गुणस्तरीय काम गर्नुपर्ने भएतापनि लो बिडिङका कारण निर्माण उद्योगमा समस्या देखिएको उनले बताइन्। निर्माण व्यवसायीहरूले क्रमशः आफ्नो क्षमता बढाउँदै विदेशी व्यवसायीहरूबाट सीप सिकेर आफ्नो स्तरोन्नति गर्नुपर्ने धारणा मन्त्री झाँक्रीले व्यक्त गरिन् । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले निर्माण उद्योगका समस्या र समाधानका बारेमा लिखित सुझाव मन्त्री झाँक्री समक्ष पेश गरेको छ ।
महासंघको प्रतिनिधिमण्डले धरौटी रकम फिर्ता, बैंक क्रेडिट लाइनको खारेजी, बिमा शुल्क वृद्धि लगायतका विषयमा आफ्नो लिखित सुझाव मन्त्री झाँक्रीलाई बुझाएको छ ।
त्यस्तै आयकर मुल्य अभिवृद्धि करमा छुट, बैंक ग्यारेण्टी नवीकरण निशुल्क, विमाको नवीकरण निशुल्क, पुर्नकर्जाको व्यवस्था, बोलपत्रको क्राइटेरिया, विद्यमान ऐन कानून संशोधन सहितका विषयमा पनि मन्त्री झाँक्रीको ध्यानाकर्षण गराएको छ ।