विश्वासको मत माग्दै मुख्यमन्त्री शाक्यले भनिन्- दल विभाजनले लोकतन्त्र बलियो हुँदैन – Nepal Press
वागमती प्रदेश

विश्वासको मत माग्दै मुख्यमन्त्री शाक्यले भनिन्- दल विभाजनले लोकतन्त्र बलियो हुँदैन

काठमाडौं । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मत मागेकी छिन् । प्रदेशसभा बैठकमा सम्बोधन गर्दै शाक्यले संवैधानिक व्यवस्थाअनुसार नै आफू विश्वासको मत माग्न उपस्थित भएको बताइन् ।

राजनीतिक दलहरु कमजोर र विभाजित हुँदा लोकतन्त्र नै संकटमा पर्ने आफ्नो बुझाइ रहेको भन्दै शाक्यले संविधानको भावनाविपरीत अध्यादेश ल्याएर नेकपा एमाले विभाजन गरिएको बताइन् ।

‘राजनीतिक दलको विभाजनले लोकतन्त्र बलियो हुँदैन भन्ने मेरो मान्यता छ । संविधानले परिकल्पना नै नगरेको अध्यादेश ल्याउने निन्दनीय काम गरियो । तर पनि संविधानको मर्मको सम्मान गर्दै मैले विश्वासको मत लिन प्रस्ताव पेश गरेको छु’, शाक्यले भनिन् ।

एमाले नेतृत्वको प्रदेश सरकारले गरेका कामहरूको लामो फेहरिस्त पेस गर्दै मुख्यमन्त्री शाक्यले आफ्नो कार्यकाल छोटो भएपनि राम्रो काम गर्न अधिकतम प्रयास गरेको बताइन् ।

प्रदेश सरकार समृद्धि र जनताका चाहनाप्रति जिम्मेवार रहेको भन्दै शाक्यले पूर्ववर्ती सरकार र आफ्नो नेतृत्वको सरकारका सबै मन्त्रीलगायतलाई धन्यवाद ज्ञापनसमेत गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर