निजी अस्पताललाई प्रदेश अस्पतालको काउन्टर, चार सय रुपैयाँ तिरे बिहानै विशेषज्ञ सेवा – Nepal Press

निजी अस्पताललाई प्रदेश अस्पतालको काउन्टर, चार सय रुपैयाँ तिरे बिहानै विशेषज्ञ सेवा

सुर्खेत । कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतले नयाँ अवधारणा ल्याएर निजी अस्पताललाई काउन्टर दिएको छ । डाक्टरहरु बिहान निजी क्लिनिकमा गएर जाँच गर्ने र अस्पतालमा लामो लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रदेश अस्पतालले निश्चित शुल्क लिएर बिहानै विशेषज्ञ सेवा दिएर निजी अस्पताललाई काउन्टर दिएको हो ।

प्रदेश अस्पताल कालागाउँमा यसअघि बिहान दश बजेदेखि मात्रै विशेषज्ञ सेवा सुरु हुने गरेकोमा कात्तिक एक गतेदेखि बिहान सात बजेबाट सेवा सुरु भएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताए ।

डा. खड्का भन्छन्, ‘अब बिहानै पनि चार सय रुपैंया तिरेर विशेषज्ञ सेवा दिन सुरु गरेका छौं । यसले पैसा तत्काल खर्च गरेर सेवा लिन चाहने विरामीलाई सजिलो हुनेछ ।’

उनले यसबाट अस्पतालको आयस्रोत बढ्ने र उक्त रकमबाट अस्पतालमा कार्यरत विशेषज्ञहरुको मनोबल बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनका अनुसार अस्पतालले बालरोग, मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूती रोगको विशेषज्ञ सेवा प्रदान गर्नेछ । यस्तै, अस्पतालले हाडजोर्नी तथा नसा रोग, नाक, कान, घाँटी रोग, छाला, सौन्दर्य तथा यौनरोग, मानसिक रोगको विशेषज्ञ सेवा सुरु गरेको छ ।

अस्पतालले क्याविनमा बसेर तत्काल सर्जरी सेवा लिन चाहेमा ५० प्रतिशत अतिरिक्त शुल्क तिरी सेवा लिन सकिने व्यवस्था सुरु गरेको छ । अर्थात कुनै अप्रेसनको दिउँसोको समयमा दुई हाजर लाग्थ्यो भने तत्काल अप्रेशन सेवा लिनु परेमा अब तीन हजार तिर्नु पर्नेछ । नाम दर्ता कार्डका लागि २५ रुपैयाँ शुल्क तोकेको अस्पतालले यो सेवा लिनेका लागि शनिबार बाहेक बिहान सात बजेदेखि नौ बजेको समय तोकेको डा. खड्काले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर