भारतको नेशनल डिफेन्स कोर्षको भ्रमण दल जंगी अड्डामा, आजै रक्षा, अर्थ र परराष्ट्रमन्त्रीलाई भेट्दै – Nepal Press

भारतको नेशनल डिफेन्स कोर्षको भ्रमण दल जंगी अड्डामा, आजै रक्षा, अर्थ र परराष्ट्रमन्त्रीलाई भेट्दै

काठमाडौं। भारतमा सञ्‍चालित नेशनल डिफेन्स कोर्ष २०२१को भ्रमण दलले नेपाली सेनाको मुख्यालय जंगी अड्डामा भ्रमण गरेका छन् ।

जंगी अड्‍डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति महारथी प्रभुराम शर्माले उक्त भ्रमणदलका प्रतिनिधिमण्डलको प्रमुख धीरेन भीआइजीसँग आफ्नो कार्यकक्षमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

नेपाली सेना सम्बन्धि विषयहरुमा प्रस्तुतिकरण र अन्तरकृयाको कार्यक्रम सम्पन्न भएको जंगी अड्डाले जनाएको छ । कार्यक्रमको शुरुवातमा प्रधान सेनापति शर्माले आफ्नो स्वागत मन्तव्य राख्दै यस्तो भ्रमणबाट दुई देशका सेनाका बीच रही आएको सम्बन्धको सुदृढीकरण गर्न तथा द्विपक्षिय सुरक्षा चासोका विषयहरुको सम्बोधनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

आजै एक फरक कार्यक्रममा भ्रमणदलमा सहभागी सदस्य तथा तालिमरत शिक्षार्थीहरुका श्रीमतीहरुलाई सैनिक श्रीमती संघको कार्यालय, भद्रकालीमा स्वागत तथा शिष्टाचार भेटवार्ताको कार्यक्रम समेत आयोजना गरिएको थियो ।

उक्त भ्रमणदलले आजै रक्षामन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
अस्ट्रेलिया, भुटान, माल्दिभ्स र श्रीलंकाका शिक्षार्थीहरु समेत समावेश भएको उक्त भ्रमणदलको टोलीले कात्तिक ६ गतेसम्‍म नेपाल भ्रमण गर्नेछ ।

धिरेन भिआइजीको नेतृत्वमा रहेको ३९ सदस्‍यीय भ्रमण दल असोज ३१ गते नेपाल आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर