सिइओ असफल बनाउन वीरका कर्मचारी नै सक्रिय, मन्त्रीको नाम लिँदै सप्लायरसँग डिलिङ – Nepal Press

सिइओ असफल बनाउन वीरका कर्मचारी नै सक्रिय, मन्त्रीको नाम लिँदै सप्लायरसँग डिलिङ

काठमाडौं । स्वास्थ्य मन्त्रालयमा नेतृत्व फेरिएसँगै वीर अस्पतालका केही कर्मचारीले मन्त्री विरोध खतिवडाका नाममा चन्दा आतंक मच्चाउन थालेको आरोप लागेको छ ।

जागेश्वर गौतमको ठाउँमा डा.भुपेन्द्र बस्नेत वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृत भएर आएपछि सुधारको प्रयास भइरहेका बेला कर्मचारी नै बाधक बनेर बस्नेत असफल बनाउन लागेको आरोप छ ।

वीर अस्पतालको खरिद एकाई ,जनरल स्टोर र सामाजिक एकाईमा लामो समयदेखि बसेर आर्थिक अपचलन तथा ठेकेदारहरुसँग मिलेमतो गर्ने गरेका कर्मचारीनै मेडिकल माफियाहरुमार्फत आफ्नो प्रभाव बढाउन मन्त्रालयमा नेतृत्व परिवर्तन भएको मौका छोप्न थालेका हुन् ।

वीर अस्पतालको मेडिकल सामग्री खरिद तथा ठेक्का र कर्मचारी भर्नामा मिलेमतो गर्ने गरेको भन्दै यसअघि पनि सतर्कता केन्द्रले सचेत गराएको थियो ।

वीर अस्पताल र ट्रमा सेन्टरका एजेन्ट मन्त्री खतिवडाकै जिल्ला मकवानपुरका अहेब विष्णु फुयाल , अग्निधर बस्याल र जनरल स्टोरका केही कर्मचारी तथा लेखा शाखा प्रमुख लोक बोहरालगायतले सप्लायर्सहरुमार्फत चन्दा आतंक मच्चाएको भन्दै मन्त्रालयमा समेत उजुरी पुगेको छ ।

विष्णु फुयाल र अग्निधरको समूहले पहिलो पटक मन्त्री बनेका खतिवडाको लागि दशैं खर्च भन्दै वीरमा करोडौंका सामग्री सप्लाइ गर्ने व्यवसायीहरुसँग पैसा संकलन गरेको आरोप लागेको छ ।

वीरमा सामग्री सप्लाइमा ठूलो अनियमितता हुने गरेको छ भने जनरल स्टोर तथा लेखा शाखाका कर्मचारीको मिलेमतोमा केही व्यवसायीको सिण्डिकेट चल्ने गरेको छ । यसअघि सफल निर्देशकको छबी बनाएका डा.भुपेन्द्र बस्नेतलाई निरीह बनाउन खोजिएको छ ।

अस्पतालका एक बरिष्ठतम कर्मचारीले भने– मन्त्री हाम्रा छन्, अब भुपेन्द्रको केही चल्दैन भन्दै सामानको दररेट मिलाएर ल्याऊ भनेर विभिन्न होटलमा सप्लायरहरुसँग लेखा प्रमुख बोहोरा र अहेब फुयालहरुले डिल गरिरहेका छन् ।

यो टोलीले मन्त्रीको नाम लिदै अस्पतालका सबै शाखा र विभागका स्टोर आफू मातहत हुनुपर्ने भन्दै प्रशासनलाई दबाब दिएपछि वीरको ब्यथिती बाहिर आएको हो । प्रमुख प्रशासकीय अधिकृत बस्नेतका सुधारको काममा भाँजो हाल्न थालिएपछि कर्मचारीहरु विभाजित भएका छन् ।

यसअघि पनि लेखा शाखा प्रमुख बोहरा, अहेब फुयालले जागेश्वर गौतमको पालामा मिलमतो गरि म्याक्सिक लाई २४ करोड़को अनियमित टेन्डर दिएपछि ठूलो विवाद भएर गौतमको सरुवा भएको थियो ।

अस्पतालका कर्मचारीहरूले लेखा प्रमुख लोक बोहराको सरुवा, मेडिकल स्टोर माथि अनुगमन, वीरबाट सरुवा भएका कर्मचारीको रमाना लगायत माग राखी स्वास्थ्य मन्त्री र सचिवलाई निवेदन दिन लागेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर