कुर्मराजसहित कर्णालीका ३ मन्त्री दुई सातापछि बिदा हुँदै, ५ मन्त्री थप्ने तयारी – Nepal Press

कुर्मराजसहित कर्णालीका ३ मन्त्री दुई सातापछि बिदा हुँदै, ५ मन्त्री थप्ने तयारी

सुर्खेत । पार्टी ह्वीप उल्लंघन गर्दै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकारलाई विश्वासको मत दिएवापत मन्त्री बनाइएका तत्कालीन एमाले (हाल समाजवादी) का तीन नेताको पदावधि दुई साता मात्रै बाँकी छ । उनीहरुको बहिर्गमनसँगै कर्णालीमा पाँच नयाँ मन्त्री थपिने भएका छन् ।

कर्णाली प्रदेशमा एमालेको एकल बहुमत रहेको समयमा सो पार्टीका प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीको सरकारलाई जोगाइदिएका थिए । उनीहरुमध्ये बुढालाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री, शाहीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र थापालाई भौतिक मन्त्री बनाइएको छ । पार्टीले कारवाही गरेपछि स्वतन्त्र हैसियतमा मन्त्री बनाइएका उनीहरुको पदवधि आगामी कात्तिक १५ गते सकिँदै छ । संवैधानिक व्यवस्थाअनुसार संंसद सदस्य नरहेका व्यक्ति ६ महिनासम्म मात्रै मन्त्री बन्न पाउँछन् ।

तीनै जनालाई मुख्यमन्त्री शाहीले पहिलोपटक सांसद हैसियतमा वैशाख ४ गते मन्त्री नियुक्त गरेका थिए । तर पार्टीको कारवाहीबाट सांसद पद गुमेपछि वैशाख १५ गते फेरि स्वतन्त्र हैसियतमा मन्त्री बनाएका थिए । यस विषयमा दायर गरेको मुद्दामा सर्वोच्च अदालतले पनि एमालेको कारवाही सदर गर्दै फैसला गरेको थियो । हाल एकीकृत समाजवादीमा लागे पनि उनीहरु सो पार्टीको सांसदको हैसियतमा छैनन् ।

तीनै जनाले मन्त्री गुमाउने भएपछि अब नयाँ मन्त्रीको चर्चा सुरु भएको छ । सत्ता साझेदार नेपाली कांग्रेसले जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउनुपर्ने भन्दै आए पनि मुख्यमन्त्री शाही भने सत्ता हस्तान्तरणको मुडमा छैनन् । कर्णालीमा स्पष्ट अल्पमतमा रहेको भए पनि विश्वासको मत पाउन सफल मुख्यमन्त्री शाहीले सत्ता नछोड्ने उनीनिकट स्रोत बताउँछ ।

मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाहीकै निरन्तरता हुने अवस्था देखिएपछि कर्णालीमा कम्तीमा पाँच मन्त्री थपिने भएका छन् । नेकपा समाजवादीमा लागेका सांसदहरु पदम रोकाय, चन्द्रबहादुर शाही मन्त्री पदका प्रमुख दावेदार हुन् भने सामाजिक विकास समितिका अध्यक्ष देवी ओली मन्त्री बन्ने सम्भावना छ ।

कांग्रेसबाट हाल मन्त्री रहेका दीनबन्धु श्रेष्ठ र यज्ञबहादुर बुढाक्षेत्रीमध्ये सामाजिक विकास मन्त्री बुढाक्षेत्रीको स्थानमा हिमबहादुर शाहीलाई ल्याउने गरी तयारी भइरहेको छ ।

यसअघि नै मन्त्रीको रुपमा निर्णय भइसकेका माओवादीका सांसद विन्दमान विष्ट भौतिक पूर्वाधार मन्त्री बन्दैछन् भने रातो कामीको मन्त्री बन्ने सम्भावना बढी रहेको मुख्यमन्त्री स्रोत बताउँछ ।

‘आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माको निरन्तरता हुने देखिएको छ भने विन्दमान विष्ट मन्त्री बन्ने पक्का भएको छ,’ स्रोत भन्छ, ‘तिहारपछि मात्रै मन्त्रीपरिषद विस्तार हुन सक्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर