आईसीसी ट्वान्टी-२० विश्व कप आजदेखि – Nepal Press

आईसीसी ट्वान्टी-२० विश्व कप आजदेखि

काठमाडौं । सातौं आईसीसी टी-२० विश्व कप क्रिकेट आजदेखि सुरु हुँदैछ । पहिलो चरणको पहिलो खेलमा आयोजक ओमान र पपुवा न्युगिनी भिड्दैछन् ।

यस्तै, आइतबार नै हुने दोस्रो खेलमा बंगलादेशले स्कटल्यान्डसँग खेल्ने छ । यो पनि छनोट चरणकै खेल हो । छनोट चरणमा ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । र, पहिलो चरणबाट शीर्ष दुई टोलीले समूह चरणमा स्थान बनाउने छन् ।

ओमान छनोट चरणमा स्थान बनाउने अन्तिम टोली हो । हङकङलाई पराजित गर्दै ओमानले टी-२० विश्व कपको टिकट काटेको थियो । यस्तै पपुवा न्युगिनीले गत सेप्टेम्बरमा मात्रै ओमानमा खेलेको थियो । र, त्यहाँको मैदानसँग राम्रो पहिचान बनाइसकेको पिएनजीले आज घरेलु टोलीलाई पराजित गर्ने पूर्ण प्रयास गर्नेछ ।

ओमान र पिएनजीबीचको खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ । यस्तै बंगलादेश र स्कटल्यान्डबीचको दोस्रो खेल पौने १० बजे सुरु हुनेछ । दुवै खेल ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट स्टेडियममा हुनेछन् ।

छनोट चरणको समाप्तीसँगै अक्टोबर २२ देखि समूह चरणका खेलहरू सुरु हुनेछन् ।

छनोट चरणको समूह ‘ए’मा आयरल्यान्ड, नामिबिया, नेदरल्यान्ड्स र श्रीलंका छन् । यस्तै समूह ‘बी’मा बंगलादेश, ‌ओमान, पिएनजी र स्कटल्यान्ड छन् । दुवै समूहबाट शीर्ष दुई टोलीले सुपर-१२ मा स्थान बनाउने छन् ।

सुपर-१२ को समूह १ मा भने अस्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज हुँदा समूह २ मा अफगानिस्तान, भारत, न्युजिल्यान्ड र पाकिस्तान यसअघि नै छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *