बुटवलमा ‘मिनी फेवा ताल’, धाम र पिकनिक स्पट पनि सँगै – Nepal Press

बुटवलमा ‘मिनी फेवा ताल’, धाम र पिकनिक स्पट पनि सँगै

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा करिब २५ विगाहा जग्गामा मिनी फेवा ताल बनाएर पर्यटन आकर्षणको केन्द्र बनाउन थालिएको छ ।

उपमहानगरले पर्यटन क्षेत्रको गौरवको आयोजनामा राखेर वडा नं १६ को बैठौलिया र कपरकट्टीसँग जोडिएको ताललाई मिनी फेवा तालको रुपमा विकास गरेको हो ।

करिब ५० वर्ष पहिलेदेखि स्थानीयले सिंचाईको मुख्य स्रोतका रुपमा परम्परागत रुपले प्रयोग गर्दै आएको बैठौलिया कपरकट्टी ताललाई दीर्घकालीन पर्यटन आकर्षक केन्द्रका रुपमा विकास गरिएको हो ।

हरेक वर्ष बजेट विनियोजन गर्दै अगाडि बढाइएको यो तालमा यही दसैंमा ढुंगा चलाउने गरी आयकर ठेक्कासमेत भइसकेको छ । ‘४५ लाखमा ५ वर्षका लागि ठेक्का भइसकेको छ’, प्रवक्ता रामप्रसाद रेग्मीले भने ।

१९ विगाहा क्षेत्रफल जलाशय रहेको ताल वरिपरी करिब २५ विगाहा रहेको रेग्मीको भनाइ छ । ताललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि पञ्चवर्षीय गुरुयोजनाअनुसार काम भइरहेको रेग्मीले बताए ।

जिल्लाकै सबैभन्दा ठूलो दावी गरिएको ताल बुटवलको सेमलारदेखि बैठौलियासम्म २ किलोमिटर लामो क्षेत्रमा फैलिएको छ ।

बुटवलदेखि फर्साटिकर हुँदै जाँदा १२ किलोमिटर पश्चिममा पर्ने तथा पूर्व–पश्चिम राजमार्गको तामनगरदेखि ४ किलोमिटर दक्षिणमा अवस्थित तालमा अबदेखि डुङ्गा सयर गर्न पाइने भएको छ ।

चारैतिर उर्वर र समथर जमिन, बीचमा ठूलो आकार लिएर फैलिएको ‘मिनी फेवा ताल’ आकर्षक मात्र होइन वरिपरी रहेका करिब ६ सय विगाह बढी जमिनलाई सिंचाई गर्ने गर्दछ ।

सिंचाईबाट कृषि उत्पादनमा समेत यसको महत्वपूर्ण भूमिका रहेको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए ।

 

ताललाई थप व्यवस्थित गर्दै नजिकै रहेको ऐतिहासिक नरैनापुर धामलाई समेत जोडेर विकास गर्ने गरी गुरुयोजना अनुसार काम भैरहेको उनकोे भनाइ छ । नरेनापुरधाम सो क्षेत्रको अर्को धार्मिक क्षेत्र हो । उपमहानगरले यहाँ १ हजार जना अट्ने धार्मिक हल बनाएको छ ।

यो ताललाई धेरै पहिलेदेखि स्थानीयले सिंचाईको मुख्य स्रोतको रुपमा प्रयोग गर्दै आएका थिए । तालको विकासको लागि बुटवल उपमहानगरपालिकाले हरेक वर्ष रकम विनियोजन गरेको छ ।

विनियोजित बजेटबाट तालको अतिक्रमित जग्गाको रेखाङ्कन तथा फिर्ता गर्ने काम गर्नुका साथै ताल सफाई र २ विगाह क्षेत्रफलमा पार्किङस्थल निर्माण गरिएको प्रवक्त रेग्मीले बताए ।

पछिल्लो समय यसको व्यवस्थापनका लागि ४ करोड ८२ लाखको टेण्डर भइ काम शुरु भएको छ । थारु समुदायको बाहुल्यता रहेको त्यस क्षेत्रमा व्यवस्थित ताल बन्ने भएपछि तालसँग साटेर जग्गाधनीहरुले २० फिटमा बन्ने फुटपाथ, बगैंचा तथा रिङरोड निर्माणका जग्गा उपलब्ध गराउने भएका छन् ।

कस्तो बन्ला ‘मिनी फेवा ताल’

६ फिट चौडाईसहितको ४ किलोमिटर लामो फुटपाथ, त्यससँगै जोडिएको ४ फिट पराकिलो बँगैचा । बगैचासँगै जोडिएको हुनेछ नालीसहितको १० फिट चौडाईको सिङ्गल लेन रिङ रोड ।

रिङ रोड तथा फुटपाथका विभिन्न ठाउँहरुमा पिउने पानीको व्यवस्था र बगैंचामा सिंचाईका लागि धाराको व्यवस्था गरिने छ । ‘१०÷१५ फिट गहिराइ रहेको तालको बीच भागमा बराह मन्दिर र ताल वरिवरी सुरक्षाका लागि सिसि टिभी क्यामेरसहित रातमा पनि झिलिमिली देखिने गरी बिजुली बत्तीको व्यवस्था हुनेछ’, विकसित मिनी फेवातालको योजना सुनाउँदै वडाअध्यक्ष रेग्मीले भने ‘सुविधासम्पन्न बोट स्टेशन, ४ विगाह क्षेत्रफलमा पार्किङ स्पोर्ट र तालका ४ स्थानमा सेल्फीजोन हुनेछ ।’

तालको बीच भागमा आकाशे पुलसहित पर्यटकका लागि आकर्षक जोनका रुपमा विकास गर्ने योजना रहेको उनले बताए । थप ५ विगाहा जग्गा अधिग्रहण गरी तालको क्षेत्रफल वृद्धि गर्ने योजना रहेको उनले जानकारी गराए ।

मिनी फेवा तालको नजिकै हुनेछ, व्यवस्थित सिमसार ताल, जहाँ विभिन्न प्रजातिका चराचुरुङ्गी देख्न पाइनेछ । अहिले ७÷८ विगाहामा फैलिएको अर्को सानो ताललाई व्यवस्थित सिमसार बनाइने भएको हो ।

तालसँगै धाम र पिकनिक स्पट

मिनी फेवातालसँग करिब करिव १ किलोमिटरको दूरीमा रहेको ऐतिहासिक नरैनापुर धामलाई थप व्यवस्थित गरिने भएको छ । हरेक वर्षको शिवरात्रि पर्वमा भक्त जन तथा दर्शनार्थीको भीड लाग्ने धामलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि गुरुयोजना तथा केही योजनाहरुको डिपिआर समेत तयार गरी काम अगाडि बढेको हो ।

करिब १० विगााह क्षेत्रफलमा फैलिएको धाम परिसरमा शिव लिङ्गसहितको १ सय ८ मिटर अग्लो भ्यू टावर निर्माण गर्नका लागि ३२ करोड बढीको डिपिआर तयार भैसकेको धाम व्यवस्थापन समितिका सदस्य तथा ताल विकास समितिका सल्लाहकार कमलप्रसाद ढुङ्गानाले जानकारी गराए ।

यहाँ १ हजार जना अट्ने धार्मिक सभाहलको निर्माण पनि भएको छ । यसैगरी धाम र तालको बीचमा पर्ने गरी करिव ७ विगाहा क्षेत्रफलमा व्यवस्थित पिकनिक स्पट निर्माणको योजना अगाडि बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर