म्यानचेस्टर युनाइटेडमाथि लेस्टरको जित, ब्रेन्टफोर्डलाई हराएर चेल्सी शीर्षमा – Nepal Press

म्यानचेस्टर युनाइटेडमाथि लेस्टरको जित, ब्रेन्टफोर्डलाई हराएर चेल्सी शीर्षमा

एजेन्सी । दुई साताको अन्तर्राष्ट्रिय छुट्टीपछि पुनः सुरु भएको इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले म्यानचेस्टर युनाइटेडमाथि ४–२ गोलअन्तरको जित हासिल गरेको छ ।

घरेलु मैदानमा पछि परेको लेस्टरले पुनरागमन जित निकालेको हो । मासोन ग्रिनउडले युनाइटेडलाई सुरुआती अग्रता दिलाएका थिए । योरी टेलिसम्यानले ३१औं मिनेटमा गोल फर्काएपछि पहिलो हाफ १–१ को बराबरीमा पुग्यो ।

लेस्टरले खेलको अन्तिम १३ मिनेटपछि तीन गोल गरेपछि स्पष्ट तीन अंक सहज बनायो । ७८औं मिनेटमा काग्लर सोयुन्कुले लेस्टरलाई अग्रता दिलाए । ८२ औं मिनेटमा मार्कस रासफोर्डले बराबरी गोल फर्काए ।

तर त्यसको एक मिनेटपछि नै जेरेमी भर्डीले गोल गरेपछि लेस्टर जिततर्फ अघि बढ्यो । इन्जूरी समयको पहिलो मिनेटमा प्याट्सन डाकाले गोल गरेपछि लेस्टरको जित निश्चित भयो ।

८ खेलबाट ११ अंक बनाएको लेस्टर ११औं स्थानमा उक्लिएको छ । म्यानचेस्टर युनाइटेड भने समान खेलबाट १४ अंकसहित पाँचौं स्थानमा छ ।

ब्रेन्टफोर्डमाथि १–० को अवे जितसहित चेल्सी प्रिमियर लिगमा पुनः शीर्ष स्थानमा उक्लिएको छ । चेल्सीको जितमा बेन चिलवेलले ४५औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । ८ खेलबाट चेल्सीको १९ अंक भएको छ ।

शनिबारको अघिल्लो खेलमा वाटफोर्डलाई ५–० ले हराएर लिभरपुल केहि घण्टाका लागि शीर्ष स्थानमा पुगेको थियो ।

म्यानचेस्टर सिटीले बर्नलीमाथि २–० को जितसँगै अंकतालिकामा तीन स्थान सुधार गरी तेस्रो स्थानमा पुगेको छ । सिटीको ८ खेलबाट १७ अंक भएको छ ।

फर्नान्डो शिल्भाले १२औं र केभिन डी ब्रुयेनले ७०औं मिनेटमा गोल गरेपछि सिटीले सहज जित हासिल गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *