साफ च्याम्पियनसिप फाइनल: भारत र नेपालबीचको पहिलो हाफ गोलरहित बराबरी – Nepal Press

साफ च्याम्पियनसिप फाइनल: भारत र नेपालबीचको पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं । साफ च्याम्पियनसिपको फाइनलमा भारत र नेपालबीच जारी खेलको पहिलो फका गोलरहित बराबरीमा सकिएको छ । माल्दिभ्सको मालेस्थित नेसनल फुटबल स्टेडियममा जारी खेलको पहिलो हाफमा दुवै टोलीले गोलका लागि निरन्तर प्रयास गरे पनि स्पष्ट मौका भने सिर्जन गर्सन सफल भएनन् ।

खेल सुरुआतदेखि नै वर्षा सुरु भएकाले मैदान चिप्लो भएको छ भने बल कन्ट्रोलमा समस्या देखिएको छ । रोमाञ्चक फाइनलअन्तर्गत जारी खेलमा दुवै टोलीले केही मौका भने सिर्जना गर्ने कोसिस गरेका छन् ।

चौथो मिनेटमा यासिर मोहम्मदले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहारलाई राम्रोसँग नियन्त्रणमा लिन नेपाली गोलकिपर किरण चेम्जोङ असफल भएका थिए । किरणले रोकेको बलमा भारतीय मिडफिल्डर अनिरुध थापाले ६ यार्ड बक्स नजिकबाट प्रहार गरे पनि किरणले छोटो समयमा दुई उत्कृष्ट बचाउ गरेका थिए ।

छैठौं मिनेटमा नेपाली फरवार्ड नवयुग श्रेष्ठले गरेको प्रहार पोलमा लागेर फर्केको थियो । यद्यपि, उनले भारतीय गोलकिपर गुरप्रीतसिंह सन्धुमाथि गरेको फाउलका कारण त्यो गोल भए पनि मान्य नहुने स्पष्ट थियो ।

खेलको १४औं मिनेटमा भारतीय खेलाडी यासिरले गरेको अर्को प्रहार नेपालले गोललाइन नजिकबाट क्लियर गरेको थियो । खतरा बन्ने सम्भावना रहे पनि नेपाली डिफेन्डरले बल सहजै क्लियर गरेका थिए ।

खेलको १७औं मिनेटमा नेपालले गोलको मौका सृजना गर्ने अवसर पाएको थियो । तर, लगातार वर्षाका कारण चिप्लो मैदानमा मिडफिल्डर तेज तामाङ चिप्लिएसँगै नेपालले सशक्त आक्रमणको मौका गुमाएको थियो । भारतीय खेलाडी राहुल भेके चिप्लिँदा नै नेपालले त्यो मौका पाएको थियो । तर, तेज पनि चिप्लिएसँगै गोलको अवसर बन्न सकेन ।

भारतीय कप्तान सुनील क्षेत्रीले २४औं मिनेटमा गरेको राम्रो प्रहारलाई नेपाली कप्तान तथा गोलकिपर किरणले रोकेका थिए । उनले दायाँतर्फबाट बटम कर्नरमा गरेको प्रहारलाई किरणले सहजै बचाएका थिए ।

बलमा नेपालमाथि हाबी भएन पनि भारतले आक्रमक मौका सृजना गर्नका लागि संघर्षरत छ । पहिलो हाफको खेल सकिन एक मिनेट बाँकी रहँदा प्रितम कोटलको पासमा भारतीय कप्तानले गरेको सशक्त प्रहार फ्रेममा परेको थिएन ।

समूह चरणका दुई खेलमा पहेँलो कार्डको सामना गरेका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र फरवार्ड अञ्जन विष्ट भने स्ट्यान्डमा बसेर आजको खेल हेरिरहेका छन् ।

प्रतियोगिताको सदाबहार दाबेदार मानिए पनि अन्डर डग्स रहेको नेपाल १३औं संस्करणमा पहिलो पटक फाइनल पुगेको हो । पहिलो खेलमा माल्दिभ्सविरुद्ध १-० को सनसनीपूर्ण जित निकालेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-२ गोलको नतिजामा पराजित गरेको थियो ।

तेस्रो खेलमा भारतसँग १-० ले पराजित भए पनि अन्तिम खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपालले पहिलो पटक फाइनलमा पुगेको हो । नेपालले भारतलाई पछिल्लो ८ वर्षयता हराउन सकेको छैन ।

प्रतियोगिताको तयारी स्वरुप गत महिना नेपालमा खेलका दुई मैत्रीपूर्ण खेलमा नेपालले एक हार र एक बराबरीको नतिजा निकालेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *