साफ च्याम्पियनसिप: पहिलो हाफमा बंगलादेशविरुद्ध नेपाल १-० ले पछाडी – Nepal Press

साफ च्याम्पियनसिप: पहिलो हाफमा बंगलादेशविरुद्ध नेपाल १-० ले पछाडी

काठमाडौं । साफ च्याम्पियनसिप अन्तर्गत बंगलादेशविरुद्ध जारी खेलमा नेपाल पहिलो हाफमा १(० ले पछि परेको छ । माल्दिभ्समा जारी प्रतियोगिताको फाइनल पुग्नका लागि कम्तिमा बराबरी नतिजा निकाल्नु पर्ने बाध्यतामा रहेको नेपालले आठौं मिनेटमा गोल खाएको थियो ।

मालेस्थित नेसनल फुटबल स्टेडियममा जारी खेलको आठौं मिनेटमा नेपाली डिफेन्डर गौतम श्रेष्ठले विपक्षी खेलाडीमाथि खराब ट्याकले गरेसँगै बंगलादेशले फ्रि(किक पाएको थियो ।

सोही फ्रि(किकमा कप्तान जमल भुयाको पासमा सुमन रेजाले हेडरमार्फत गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका हुन् । फ्रि(किक नेपाली खेलाडीको बारमा लागेर ६ यार्ड बक्सभित्र डिफ्लेक्ट भएको थियो । नेपाली डिफेन्डर दिनेश राजवंशीको कमजोरीको फाइदा उठाउँदै सुमन रेजाले गोल गरेका थिए ।

खेलको दोस्रो मिनेटमै गोलका लागि सुन्दर मौका बनाएको नेपालविरुद्ध बंगलादेशका डिफेन्डर टोपु बर्मानले खराब फाउल गर्दै असफल बनाइदिएका थिए । लास्ट म्यान डिफेन्डर रहेका बर्मानले नेपाली फरवार्ड नवयुग श्रेष्ठलाई पेनाल्टी एरिया ठीक अगाडि तानेर लडाउँदै नेपाललाई गोल गर्न रोकेका थिए । सोही फाउलका कारण उनले दोस्रो मिनेटमै पहेँलो कार्डको सामना गर्नुपरेको थियो ।

खेलको सुरुआतदेखि नै गोलका लागि प्रयासरत नेपालले केही मौका सृजना गरे पनि सदुपयोग गर्न सकेको छैन । सुरुआतदेखि नै मिसपास र बल पोसेसनमा संघर्ष गरिरहेको नेपालले पहिलो हाफको अन्त्यतिर सम्हालिने प्रयास गरेको थियो ।

पहिलो हाफको इन्जुरी समयमा रोहित चन्दको क्रसमा आयुष घलानको सुन्दर हेडर फ्रेममा नपर्दा नेपाल बराबरी गर्न दुर्भाग्यशाली रह्यो । त्यसअघि रोहित चन्दले पनि सुन्दर मौका गुमाएका थिए ।

बंगलादेशलाई फाइनलमा पुग्न यो खेल जित्नै पर्ने बाध्यता छ भने नेपाल बराबरी मात्र गर्न सके पहिलो पटक फाइनलमा पुग्ने छ । १३औं संस्करण सम्म आइपुग्दा नेपाल भने एक पटक पनि फाइनल पुग्न सकेको छैन ।

यो डेडलक तोड्नका लागि कम्तिमा यो खेलमा नेपालले बराबरी गर्नुपर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर