कर्णालीका मुख्यमन्त्रीले राजीनामा दिने `हल्ला मात्रै´ – Nepal Press

कर्णालीका मुख्यमन्त्रीले राजीनामा दिने `हल्ला मात्रै´

‘प्रचण्ड र नेपाल शाहीकै निरन्तरता चाहन्छन्’

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कात्तिक ५ गते राजीनामा दिने भनेर गरिएकाे प्रचार गलत भएकाे माओवादी संसदीय दल कर्णालीले जनाएको छ ।

वैशाख ३ गते मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने र माओवादीले ६ महिनापछि मुख्यमन्त्रीमा जीवनबहादुर शाहीलाई सहयोग गर्ने सम्झौता भएकाे थियाे । तर केन्द्रको राजनीतिक फेरबदलका कारण कर्णालीमा मुख्यमन्त्री शाहीले तत्काल राजीनामा दिने अवस्था न्यून बन्दै गएको हो ।

पछिल्लो समयमा कांग्रेस महाधिवेशन चलिरहेको समयमा कांग्रेस नेता शाहीले पार्टी नेतृत्वलाई मुख्यमन्त्री आफूलाई बनाउन दबाब दिइरहेका छन् । उनले आफू निकटका मिडियालाई प्रयोग गरेर मुख्यमन्त्री शाहीलाई राजीनामा दिन र सहमति कायम गर्न दबाब बढाइरहेकाे  भए पनि गठबन्धनका प्रमुख नेता प्रचण्ड र माधव नेपालबीच उनलाई नै निरन्तरता दिने सहमति भइसकेको स्रोतले बतायो ।

‘कर्णालीमा शेरबहादुर देउवा पनि जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउन सकारात्मक छैनन् । प्रचण्डले चुनावी सरकार आफ्नै खोजिरहेको समयमा माधवकुमार नेपालले पनि मुख्यमन्त्री शाहीकै निरन्तरता चाहिरहेका छन्,’ समाजवादी दलका प्रभावशाली एक नेताले नेपालप्रेससँग भने, ‘मुख्यमन्त्रीमा महेन्द्र शाहीकै निरन्तरता हुन्छ । कर्णालीमा हामी, कांग्रेस र माओवादीको सहकार्य जारी नै रहनेछ । हामीलाई सो सरकारमा सहभागि हुनका लागि सहज हुने भएका कारण तत्काल उहाँले राजीनामा दिने भन्ने कुरै आउँदैन ।’

आगामी चुनावमा माओवादी र समाजवादीबीच गठबन्धन बनाएर जाने सम्भावना भएका कारण पनि मुख्यमन्त्री शाहीले राजीनामा नदिने योजना बनाएका हुन् ।

यता, माओवादी संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले कात्तिक ५ गते मुख्यमन्त्री शाहीले राजीनामा दिने भन्ने कुरा हल्ला मात्रै भएको बताए ।

‘अहिले तत्कालै राजीनामा नदिइ नहुने अवस्था छैन । त्यस्तो हल्लाको पछि किन मानिस लागिरहेका छन्, अचम्भित बनेको छु,’ उनी भन्छन्, ‘२–२ मुख्यमन्त्री भागवण्डा हुने र कर्णालीमा यिनै मुख्यमन्त्री दोहोरिन्छन् । बरु मन्त्रीहरु फेरबदल भने हुनसक्छ ।’

उनले कसैले चाँहदैमा मुख्यमन्त्री शाहीले राजीनामा नदिने बताए । ‘कसैका चाहना पनि होला । कसैका अन्य कुनै योजना पनि होलान् तर मुख्यमन्त्री शाहीले तत्काल राजीनामा दिने कुरा नै छैन,’ उनी भन्छन्, ‘केन्द्रमा देउवा, प्रचण्ड र नेपालबीच भएको सहमति हामी कार्यान्वयन गर्छौं ।’

मुख्यमन्त्री शाहीले माधवकुमार नेपालबाट मुख्यमन्त्रीमा निरन्तरताकालागि आश्वासन पाइसकेपछि मुख्यमन्त्री शाहीले राजनीतिक भेटघाट बाक्लो बनाएका छन् । उनी अहिले काठमाडौंमा नै भएको बताउँदै उनको सचिवालयले प्रचण्डदेखि समाजवादीका अधिकांश नेतालाई मुख्यमन्त्रीले भेटघाट गरिसकेको बतायो ।

‘मुख्यमन्त्रीज्यू राजनीतिक भेटघाटमा नै हुनुहुन्छ,’ स्वकीय कृष्ण आचार्यले भने, ‘राजनीतिक सहमतिका आधारमा कर्णालीमा मुख्यमन्त्री भएका कारण अझै पनि उहाँ नै मुख्यमन्त्री हुने देखिएको छ ।’

मुख्यमन्त्रीकाे प्रश्न- मिडियाले राजीनामा दिलाउने हाे र ? 

यता, मुख्यमन्त्री शाहीले आफूले राजीनामा दिने भनेर आएको समाचारमा सत्यता नभएको प्रतिक्रिया दिए । ‘राजीनामा दिनुपर्ने मैले होला नि ? कि मिडियाले राजीनामा दिने हो ?’ कात्तिक ५ गते राजीनामा दिदै हुनुहुन्छ रे नि ? भन्ने प्रश्नमा उनले भने, ‘त्यो हल्ला मात्रै हो । शीर्ष नेतृत्वले गरेको निर्णय मान्न हामी तयार नै छौं, तर अहिले नै राजीनामा दिने भन्ने कुरा वाहियात हो ।’

कांग्रेस र माओवादीबीच सत्ता सहकार्य गर्ने र मुख्यमन्त्री आलोपालो गर्ने भनेर सहमति भएको लामो समय भइसक्दा पनि मुख्यमन्त्री शाहीले सत्ता हस्तान्तरणकालागि कुनै पनि क्रियाकलाप गरेका छैनन् । आफू स्पष्ट अल्पमतमा भए पनि विश्वासको मत लिन हौसिएका मुख्यमन्त्री शाहीले सहजै कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने सम्भावना न्यून रहेको माओवादी स्रोत बताउँछ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाहीकै निरन्तरता चाहेको छ । ‘कांग्रेस हाम्रो प्रमुख प्रतिस्पर्धी भएका कारण माओवादीले नै सत्ता चलाउँदा हामीलाई बढी कम्फर्टेबल हुन्छ,´ एमालेका एक सांसद भन्छन्, ‘आवश्यकता परेको समयमा एमालेले सहयोग गर्न पनि सक्छ ।’


प्रतिक्रिया

One thought on “कर्णालीका मुख्यमन्त्रीले राजीनामा दिने `हल्ला मात्रै´

  1. Mukhya mantri change na vaya kai ramro
    Mahindra bahadur shahi jasto neta hami aru lai mandakini hami 6 no pardes ko janatako man ma basna safal mantri change vaya hami ghor birod Garxau

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर