नयाँ लुगा कहाँ किन्ने ? यी हुन् काठमाडौंका ६ सस्तो बजार – Nepal Press

नयाँ लुगा कहाँ किन्ने ? यी हुन् काठमाडौंका ६ सस्तो बजार

काठमाडौं । नयाँ लुगाका लागि चाड नै पखर्नुपर्ने त होइन तर नेपालमा दसैं भन्नासाथ नयाँ लुगा र मिठो खानाको चर्चा भइ नै हाल्छ ।काठमाडौंमा ‘फुटपाथ’ देखि ‘शपिङ मल’ सम्मै नयाँ लुगा किन्नेको भीडभाड सुरु भइसकेको छ ।

आफ्नो गच्छेअनुसारको किनमेलका लागि अनुकुल स्थानमा जाने चलन रहेको छ । दसैंको किनमेल सस्तोमै गर्न चाहनेका लागि पनि काठमाडौंमा पर्याप्त बजार भने छन् । व्यापारीबीच तीव्र प्रतिस्पर्धाका कारण काठमाडौंका केही स्थानमा तुलनात्मक रुपमा अन्यत्र भन्दा सस्तैमा लत्ताकपडा किन्न सकिन्छ ।

कहाँ किन्ने सस्ताेमा ?

भृकुटीमण्डप: भृकुटीमण्डपमा रहेको खुलाबजारमा सस्तो कपडा किन्न सकिन्छ । समाज कल्याण परिषदबाट सञ्चालित भृकुटीमण्डपको भाडा पनि सस्तो भएर कपडा सस्तो हुने गरेको छ । चीन र नेपालमा उत्पादन भएका कपडाको विक्री धेरै हुने गरेको छ । सयौ पसलहरु एकै स्थानमा भएकोले छानीछानी कपडा किन्न पनि भृकुटीमण्डप उपयुक्त स्थान हो ।

सुन्धारा: सुन्धाराको सडक पेटीमा पनि सबै प्रकारका लत्ताकपडा पाइन्छ । मान्छेहरुको चहलपहल धेरै हुने र सस्तोमा कपडा पाइने बजारको रुपमा सुन्धारालाई लिने गरिन्छ । सडक पेटीमै व्यापार गर्ने कतिपयले ‘फेन्सी आइटम’ पनि बेच्न राखेका छन् । सुन्धारामा लत्ताकपडादेखि अन्य धेरै अत्यावश्यक सामान तुलनात्मक रुपमा सस्तो पाउन सकिन्छ ।

बिजनेश कम्प्लेस (एनबीटीसी): कलंकीमा रहेको एनबीटीसीमा पनि तुलनात्मक रुपमा सस्तो बजार हो । सो कम्प्लेसमा १ हजार भन्दा बढी पसल रहेकोले उपभोक्ताले आफ्नो रोजाइ अनुसार लत्ता कपडा खरिद गर्न सक्छन् । दसैं लागेसँगै एनबीटीसीमा देखिएको भीडले पनि सस्तो बजारका रुपमा उपभोक्ताको आकर्षण बढिसकेको बुझ्न सकिन्छ ।

लगनखेलको मिनी बजार: सस्तो मूल्यमा गुणस्तरीय सामान पाइने भएकाले लगनखेलको मिनी बजार पनि सर्वसाधरणका धेरै भीड लाग्ने गरेको छ । काठमाडौंको पुरानो र सस्तो बजारका रुपमा मिनी बजारलाई लिइने गरेको छ । त्यहाँ जुनसुकै चाडपर्व पनि सामान किन्ने ग्राहकको भीड लाग्ने गरेको छ ।

कोटेश्वर सुन्दर बजार: काठमाडौंको कोटेश्वरमा रहेको सुन्दर बजार पनि एक सस्तो बजारको रुपमा परिचित छ । काठमाडौंबाट सवारी साधन बाहिरिने केन्द्र भएकोले पनि कोटेश्वरको सुन्दर बजारमा किनमेलको लागि भीड लाग्ने गरेको छ । लत्ताकपडा, जुत्ता र अन्य घरायसी सामान सस्तोमा खरिद गर्न सो बजार उपयुक्त गन्तव्य हो ।

असन: काठमाडौंको प्राचीन बजारका रुपमा रहेको असन अहिलेपनि ‘नुनदेखि सुनसम्म’का लागि परिचित छ । न्यूरोड, महाबौद्ध हुँदै असनसम्मको क्षेत्रमा फुटपाथदेखि ‘मल’सम्मको बजार भेटिन्छन् । अधिकांश पसलमा ‘सेल मेला’ लाग्ने हुँदा तुलनात्मक रुपमा असन बजार लत्ता कपडा किन्नका लागि सस्तो र उपयुक्त गन्तव्य हो । दसैंको बेलामा भीडभाड धेरै हुने भएकोले किनमेलमा जाँदा ध्यान दिनु चाहीँ जरुरी छ ।

कपडा किन्दा कतिसम्म मोलमोलाई गर्ने ?

लत्ता कपडा किन्दा सस्तोमात्रै हेरेर हुँदैन, सचेत पनि हुनुपर्छ । सामान्य कपडा पसलदेखि ठूला मलसम्म कपडामा मोलमोलाई हुने गर्छ । मोलमोलाई गरेन भने व्यापारीले ग्राहकलाई धेरै मुनाफा लिएर कपडा बिक्री गर्छन ।

सामान्य बजारमा १ हजार पर्ने जिन्स पाइन्टलाई व्यापारीले ग्राहकको ‘अनुहार हेरेर’ २ हजारदेखि ३ हजारसम्म मूल्य तोक्ने गरेका छन् । अन्य वस्तुमा जस्तो कपडामा लेबल तोकिएको हुँदैन । त्यसैले पनि व्यापारीले आफूखुसी मूल्य राखेर ग्राहक अनुसार फरक-फरक मूल्य लिने गरेका छन् ।

चाडपर्व लगायको समयमा कपडा किन्दा ग्राहकले सस्तोमा पाउनका लागि धेरै मोलमोलाई गर्नुपर्छ । ४ सय मूल्यमा दिन मिल्ने टिसर्टको मूल्य व्यापारीले १५ सयको हाराहारीमा भन्ने गरेका छन् । व्यापारीले लगाएको मूल्यमा ग्राहकले कति मोलमोलाई गर्न सक्छ त्यही अनुसार कम मूल्यमा कपडा पाउँछन् ।

बाठो व्यापारीले सस्तो सामानलाई पनि बढीभन्दा बढी रकममा बेच्न सक्छ भने बाठो उपभोक्ताले चित्त बुझेको सामान ‘सस्तै’ मूल्यमा पनि खरिद गर्न सक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर