अनेरास्ववियू रूपन्देही अध्यक्षमा शेषकान्त, सचिवमा प्रकाश


रूपन्देही । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू रुपन्देहीको अध्यक्षमा शेषकान्त पोखरेल चयन भएका छन् । अनेरास्ववियू रुपन्देहीको शनिबार सम्पन्न २३ औं सम्मेलनबाट पोखरेलले सर्वसम्मत अध्यक्षको जिम्मेवारी पाएका हुन् ।
पोखरेल १० वर्षदेखि अनेरास्ववियू पाल्पा जिल्लाका विभिन्न कमिटीमा काम गर्दै हाल रुपन्देही जिल्लाको सहसंयोजकको जिम्मेवारीमा थिए। पोखरेलले अध्यक्षको जिम्मेवारी पाएसँगै पार्टी एकतापछि कमजोर भएको संठनलाई बलियो बनाउँदै संगठन विस्तारलाई तीव्रताका साथ अगाडि बढाउने बताएका छन्।
जिल्लाभित्र रहेका बिभिन्न क्याम्पसहरुमा संगठन निष्कृय हुँदै गएको बताउँदै तत्काल क्याम्पसहरुमा क्याम्पस कमिटी गठन गरी संगठनलाई थप बलियो बनाउँदै लैजाने उनले बताए ।
सम्मेलनले शेषकान्त पोखरेलको अध्यक्षतामा ६१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ। जसको उपाध्यक्षमा भरत अर्याल ,रमेश ढकाल र शिव बेलवासे ,सचिवमा प्रकाश पराजुली रहेका छन् ।
सम्मेलनको शनिबार नै एमाले उपमहासचिव विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका थिए ।