हिरासतमा थुनुवाको मृत्यु, जिल्ला प्रहरी कार्यालय सुनसरीमा तनाव – Nepal Press

हिरासतमा थुनुवाको मृत्यु, जिल्ला प्रहरी कार्यालय सुनसरीमा तनाव

सुनसरी । प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय परिसर तनावग्रस्त बनेको छ । पीडितका आफन्तसहित ठूलो संख्याको भीडले प्रहरीमाथि आक्रमण थालेपछि दोहोरो झडप समेत भएको छ ।

ढुङ्गामुढा पश्चात प्रहरीले प्रर्दशनकारीलाई लखेट्न आधा दर्जन बढी अश्रुग्यास समेत प्रहार गरेको छ । झडपमा प्रहरीसहित एक दर्जन बढी घाइते भएका छन् । प्रर्दशनकारीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् । उनीहरुले प्रहरीले सुनियोजित रुपले थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै शव नबुझ्ने बताएका छन् ।

उता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले सीसीटीभी क्यामेरामा स्पष्ट आत्महत्या गरेको देखिएकाले प्रहरीमाथि आक्षेप लगाउनु उचित नहुने बताए । उनले घटना अनुसन्धानको क्रममा रहेकाले छानविन हुने बताए ।

प्रहरीले प्रर्दशनकारीलाई हटाउन पटक पटक प्रयास गरेपनि उग्र बनेको समूह प्रहरीमाथि जाई लागेको थियो । झडपका क्रममा प्रहरी कार्यालय र परिसरका संरचनामा क्षति समेत पुगेको छ । कार्यालय र इनरुवा बजार क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

सुनसरी प्रहरीका अनुसार अभद्र व्यवहार मुद्धामा पक्राउ परेका भोक्राहा -५ का मोहम्मद हकिम साह अनुसन्धानको क्रममा थुनामा थिए । पीडित पक्षले भने केटाकेटी राजीले भागेको विषयमा राजनीति लादिएको बताएका छन् । उनीहरुले केटीलाई परिवार पक्षले छुटाएर लगेको र केटालाई अभद्र व्यवहारमा मुद्दा चलाइएकोमा थुनामै मृत्यु हुनु सुनियोजित भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर