महानायक विवादको साइड इफेक्टः भुवन-शिव अभिनित गीतको दुर्दशा, कोपभाजनमा स्व. खेमराज गुरुङ – Nepal Press

महानायक विवादको साइड इफेक्टः भुवन-शिव अभिनित गीतको दुर्दशा, कोपभाजनमा स्व. खेमराज गुरुङ

काठमाडौं । कलाकारका लागि दर्शक नै अन्तिम सत्य हुन् । दर्शक विच्किए कुनै पनि कलाकार शिखरबाट रसातलमा झर्न कत्ति समय लाग्दैन ।

प्रसंग हो महानायक विवादको । राजेश हमाललाई महानायक मान्ने कि नमान्ने भन्ने किचलो अहिले उत्कर्षमा छ । यस विवादका विभिन्न साइड इफेक्ट देखिन थालेका छन् । जो-जो कलाकारले राजेश हमालको महानायक पदवीमाथि प्रश्न उठाएका छन् उनीहरुले हमालका फ्यानहरुबाट साइबर आक्रमणको सामना गर्नुपरेको छ । यति मात्र होइन, यस्ता कलाकारले अभिनय गरेका फिल्म नै धरापमा पर्ने खतरा देखिएको छ ।

नेपाली फिल्मका तीन लिजेन्ड भुवन केसी, शिव श्रेष्ठ र गौरी मल्लले एकसाथ अभिनय गरेको फिल्म ‘डाँडाको वरपीपल’ को एउटा गीत केही दिनअघि युट्यूवमा रिलिज गरियो । यही गीत रिलिजका अवसरमा गरिएको कार्यक्रममा निर्देशक शोभित बस्नेत तथा नायकद्वय भुवन र शिवले महानायक-महानायिकाको विवाद निकालेका थिए, जुन उनीहरुका लागि आत्मघाति सावित भएको छ ।

विवादको सोझो असर गीतको भ्यूजमा पर्न गयो । लामो समयपछि तीन हस्ति कलाकारहरुले एकसाथ अभिनय गरेको गीतमा ह्वात्तै भ्यूज आउने निर्माता–निर्देशकको अपेक्षा थियो । तर, सोचेजस्तो भएन । २१ दिनअघि युट्युवमा अपलोड गरिएको गीतले कछुवा गतिमा दुई लाख ५५ हजार भ्यूज क्रस गरेको छ । यो दयनीय हो । तर योभन्दा चिन्ताको विषय अर्को छ । गीतमा लाइकभन्दा डेढ गुणा बढी डिस्लाइक छन् । अहिलेसम्म १० हजार लाइक आएकोमा १५ हजार डिस्लाइक आएका छन् । गीतमा आएका कमेन्टहरु पनि एकदमै अप्रीय छन् । अधिकांशले महानायक विवादसँग जोडेर नकारात्मक कमेन्ट गरेका छन् ।

गीत खराब छैन । वास्तवमा यो एउटा कर्णप्रिय गीत हो र हिट हुनुपर्ने थियो । तर दर्शक रिसाएपछि के लाग्छ ? स्मरणीय के छ भने यो गीत लोकप्रिय गायक स्वर्गीय खेमराज गुरुङले गाएका हुन् । ‘वारी जमुना पारी जमुना’ बाट प्रख्यात खेमराजले मृत्युअघि गाएको सम्भवत अन्तिम गीत थियो यो । तर, महानायक विवादको कोपभाजनमा परेका छन् गुरुङ । एउटा सम्मानित गायकको गीत मृत्युपर्यन्त यसरी बाह्य कारणले आलोचित हुनु दुखद हो । गुरुङको ५ वर्षअघि निधन भएको थियो ।

शोभित बस्नेत निर्देशित चलचित्र ‘डाँडाको वरपीपल’ दसैंमा रिलिज गर्ने तयारी छ । तर, युटट्यूवमा दर्शक प्रतिक्रिया हेर्दा फिल्मको लगानी जोखिममा देखिन्छ । धेरैले यो फिल्म नहेर्ने भन्दै कमेन्ट गरेका छन् ।

यसअघि महानायक भुवन केसी हुन् भन्दै अभिव्यक्ति दिइरहेका शोभित अहिले ब्याक भएका छन् । फिल्म हेर्न दर्शक नआउने देखेपछि उनले आफ्नो भनाइ सच्याएर राजेशलाई नै महानायक मान्ने बताइरहेका छन् । उनले केही दिनअघि राजेश हमालको फोटोलाई प्रमुख अतिथि बनाएर फिल्मको अर्को गीत रिलिज गरेका थिए ।

गीत हेर्नुस्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर