एमालेले अघि बढाएका रुपन्देहीका ठूला पुर्वाधार आयोजनाप्रति सरकार पुर्वाग्रही बनेको बिष्णु पौडेलको आरोप – Nepal Press

एमालेले अघि बढाएका रुपन्देहीका ठूला पुर्वाधार आयोजनाप्रति सरकार पुर्वाग्रही बनेको बिष्णु पौडेलको आरोप

रूपन्देही । एमाले उपमहासचिव विष्णुप्रसाद पौडेलले बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा अतिक्रमण भइरहँदा सरकार मुकदर्शक बनेर बसेको आरोप लगाएका छन् । औद्योगिक करिडोर निर्माणको काम अघि बढाउनुपर्नेमा त्यसका लागि एमाले नेतृत्वको सरकारले छुट्टाएको जग्गा अतिक्रण रोक्न सरकारले कुनै चासो नदेखाएको उनले बताए ।

बुटवलमा शनिबार रूपन्देही उद्योग संघको कार्यक्रममा पौडेलले सरकारले विकासका काममा कैंची चलाएकाले त्यसको भण्डाफोर गर्ने बताएका छन्। केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारले ल्याएका महत्वपूर्ण बिकास आयोजनामा अवरुद्ध गर्नेगरी गठबन्धन सरकारले कैची चलाएकाले यसबारे सबै चनाखो बन्नुपर्ने बताए ।

केपी ओली नेतृत्वको सरकारले ल्याएका महत्वपूर्ण विकास आयोजनाहरु कटौती गर्ने र विगतदेखि नै संचालनमा रहेका आयोजनाहरुमा पनि वर्तमान सरकारले बजेट कटौती गरेको छ, बर्तमान सरकार बिकास निर्माण चाहदैन भन्ने प्रष्ट हुन्छ, उनले भने । गौतमबुद्ध विमानस्थल, सिद्धबाबा सुरुङमार्ग, तिनाउ दानव कोरिडोर, मोतिपुर औद्योगिक क्षेत्र लगायत रुपन्देहीका महत्वपूर्ण विकास आयोजनामा वर्तमान सरकारले कुनै चासो र सरोकार नै नदेखाएको पौडेलले आरोप लगाए।

गौतमबुद्ध विमानस्थलको दोस्रो चरणको काम अगाडि बढाउन सरकारले कुनै चासो नदेखाएको बताउँदै पौडेलले बिमानस्थलको पहिलो चरणको काम सकिन लागेको र आफूले दोस्रो चरणको कामको प्रक्रिया अगाडि बढाएकोमा बर्तमान सरकारले चासो नदिँदा प्रक्रिया रोकिएको बताए।

सरकारले दोस्रो चरणको काम अगाडि बढाउन आलटाल गरिरहेको छ, बिमानस्थलजस्तो महत्वपूर्ण आयोजनाको दोस्रो चरणको कामलाई सरकारले कुनै अलमल नगरी अविलम्ब अगाडि बढाइओस्” पौडेलले भने।

उनले सिद्धबाबामा सुरुङमार्ग निर्माणको लागि आफ्नो पहलमा टेण्डर आव्हान भईसकेको उल्लेख गर्दै योग्य र सक्षम कम्पनी छनोट गरेर सुरुङमार्ग निर्माणको काम पनि अगाडि बढाउन आग्रह गरे।

नेता पौडेलले सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पोखरा खण्डलाई डबल लेन सडक, बुटवल-लमही-कोहलपुर सडक बिस्तार, बुटवल-नारायणगढ सडक, बुटवल सम्मेलन केन्द्र, बुटवल मेडिकल कलेजको निर्माण, तिलोत्तमामा प्रादेशिक बसपार्क र सैनामैनामा लामिडाँडा दह निर्माण जस्ता महत्वपूर्ण आयोजनाको काम अगाडि बढाइएपनि सरकारले ती आयोजनाप्रति चासो नदिएको बताए।

पौडेलले बुटवलमाथिको चुरे क्षेत्रमा देखिएको भूक्षय रोक्न भौगर्भिक अध्ययन गर्नुपर्ने उल्लेख गर्दै त्यसको लागि प्राविधिक टोली खटाउन सरकारलाई आग्रह गरे। पौडेलले रुपन्देही क्षेत्रको विकास आयोजनामा विनियोजित बजेटको सदुपयोग भए नभएको निगरानी गर्न संचारक्षेत्रलाई आग्रह समेत गरे।

एमाले लुम्बिनी अध्यक्ष एवं लुम्विनी प्रदेशका पूर्वउद्योगमन्त्री लीला गिरीले एमाले सरकारमा रहँदा वा बाहिर रहँदापनि उद्योगी व्यवसायीको पक्षमा रहेको बताए। उनले उद्योग वाणिज्य क्षेत्रको विकास र प्रोत्साहनको लागि अघिल्लो सरकारले ल्याएका कार्यक्रम कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर