मन्त्रिपरिषद् विस्तार : पौडेल पक्षमा चर्कियो विवाद, देउवाले अब नपर्खने – Nepal Press

मन्त्रिपरिषद् विस्तार : पौडेल पक्षमा चर्कियो विवाद, देउवाले अब नपर्खने

काठमाडौं । मन्त्रिपरिषद् विस्तार र मन्त्री छनोटको विषयमा नेपाली कांग्रेसको संस्थापनइतर समूहमा विवाद चर्किएको छ । विहीबार साँझ वरिष्ठ नेता रामचन्द्र पौडेल , महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच डा. मिनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडुलाई मन्त्री बनाउने सहमति भएको थियो ।

पौडेल पक्षले ३ मन्त्रालय दावी गरेपनि सभापति एवं प्रधानमन्त्री देउवाले २ मन्त्रालयमात्रै दिने अडान राखेका थिए । वरिष्ठ नेता पौडेलले तेजुलाल चौधरी र पूर्व महामन्त्री सिंहले राजन केसीलाई पनि मन्त्री बनाउनुपर्ने बताएपछि विवाद उत्कर्षमा पुगेको हो ।

‘मन्त्रिपरिषद् विस्तारमा कुनै सहमति भएको छैन । हामीकहाँ आकांक्षी धेरै भएकोले कसलाई पठाउने भन्ने निधो गर्न गार्‍हो परेको हो ।’, पौडेलनिकट नेताले भने । यद्यपि पौडेल, कोइराला र सिंहबीच नै सहमति जुटिसकेको छैन ।

‘मिनेन्द्र रिजाल र दिलेन्द्र बडुको नाममा सहमति भइसकेको हो । अहिले राजन केसी र तेजुलाल चौधरीको पनि कुरा आयो । २ मन्त्रालयमा ४ जना पठाउन मिलेन’, संस्थापनइतर पक्षका अर्का नेताले भने ।

पौडेल पक्षले नाम दिन नसकेपनि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार गर्दैछन् । मन्त्रिपरिषद्‍मा संस्थापनइतर समूहका २ जना नेतालाई आफैं जिम्मेवारी दिने देउवाको तयारी छ । कांग्रेस स्रोतका अनुसार रक्षामा रिजाल र कानूनमा बडुलाई जिम्मेवारी दिने तयारी देउवाले गरेका छन् ।

‘मन्त्री बनाउनै पर्नेको नाम प्रधानमन्त्रीले यसअघि नै पाइसक्नुभएको छ । उहाँहरूको गुटको विवाद प्रधानमन्त्रीको चासोको विषय भएन । सबैलाई समेटेर मन्त्रिपरिषद बनाउनुहुन्छ । अब रोकिने कुरै छैन’, प्रधानमन्त्री देउवानिकट एक नेताले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर