साफ च्याम्पियनसिपः ‘भारतसँगको बराबरी वर्षकै सबैभन्दा ठूलो सफलता’ – Nepal Press

साफ च्याम्पियनसिपः ‘भारतसँगको बराबरी वर्षकै सबैभन्दा ठूलो सफलता’

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपअन्तर्गत बिहीबार भएको खेलमा भारत र श्रीलंकाले गोलरहित बराबरी खेले । विश्व वरीयताको १ सय १औं स्थानको दक्षिण एसियाली पावर हाउस भारतलाई बराबरीमा रोक्नु श्रीलंका लागि यो ठूलो सफलता रह्यो ।

दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको फाइनल प्रवेशको सम्भावना गुमाइसकेको श्रीलंकाले पहिलो खेलमा बंगलादेशसँग १–० को हार बेहोरेको थियो । त्यस्तै, दोस्रो खेलमा नेपालसँग ३–२ गोलको नतिजामा पराजित भएसँगै श्रीलंकाको सम्भावना समाप्त भएको हो ।

भारतविरुद्ध बिहीबार रातिको खेलमा गोलरहित बराबरीको नतिजा निकाल्नु श्रीलंकाका लागि वर्षको सबैभन्दा ठूलो सफलता रहेको फुटबल संघका अध्यक्ष जसवार उमारले बताएका छन् ।

‘विश्व बरियताको १ सय १औं स्थानको भारतविरुद्ध गोलरहित बराबरी खेल्नु वर्षको सबैभन्दा ठूलो सफलता हो,’ उनले भनेका छन्, ‘यो मैले किन भनिरहेको छु भने हामीसँग जुनसुकै अवस्थामा पनि राइज हुन सक्ने क्षमता छ ।’

प्रतियोगिताको फाइनलमा स्थान बनाउन असफल रहे पनि विश्व बरियताको २०५औं स्थानमा रहेर आफूभन्दा १ सय ४ स्थानमाथिको भारतलाई बराबरीमा रोक्नु श्रीलंकाका लागि ठूलो उपलब्धी हो ।

‘हामी साथ–साथ फुटबललाई ‘रि–स्टार्ट’ गर्न सक्छौं,’ अध्यक्ष उमारले भनेका छन्, ‘म श्रीलंकन फुटबलमा छिटै ‘रिभोलुसन’ ल्याउने छु, सबैको विश्वास, सहयोगसँगै खेलाडीलाई धन्यवाद१ आउनुहोस् मरो मिसनमा सहभागी हुनुहोस् ।’

इङ्ल्यान्डमा व्यावसायिक फुटबल खेलिरहेका ‘ओभरसिज’ खेलाडीलाई टोलीमा समावेश गरेसँगै दक्षिण एसियाली टोलीहरूलाई कडा चुनौती दिएको श्रीलंकाले साफको अन्तिम खेलमा आइतबार माल्दिभ्ससँग खेल्ने छ ।

प्रतियोगिताका सुरुआती दुई खेलमा जित निकालेको नेपाल अहिले तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानको बंगलादेशले ३ खेलबाट ४ अंक जोडेको छ । यस्तै तेस्रो स्थानको माल्दिभ्सले दुई खेलमा ३ र भारतले पनि समान दुई खेलमा २ अंक मात्र जोडेको छ ।

राउन्ड रोबिन लिग पद्दतिमा जारी प्रतियोगिताको पहिलो चरणबाट शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् । हालसम्म प्रतियोगितामा सतप्रतिशत नतिजा निकाल्न सफल टोली नेपाल मात्र हो । नेपालले आगामी दुई खेलमा एक अंक मात्र हासिल गरे पनि फाइनल पुग्ने छ ।

नेपालले आइतबार भारत र बुधबार बंगलादेशसँग खेल्ने छ । प्रतियोगिताको १३औं संस्करणसम्म आइपुग्दा नेपालले फाइनल यात्रा तय गर्न सकेको छैन । तर, यसपाली भने नेपाल धेरै नजिक पुगिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर