इपीएलको फाइनलमा चितवन र पोखराको भिडन्त निश्चित – Nepal Press

इपीएलको फाइनलमा चितवन र पोखराको भिडन्त निश्चित

भैरहवालाई ७ विकेटले हराउँदै पोखरा पहिलोपटक फाइनलमा

काठमाडौं । भैरहवा ग्लाडियटर्सलाई ७ विकेटले पराजित गर्दै पोखरा राइनोज पहिलोपटक एभरेष्ट प्रिमियर लिग (ईपीएल) को फाइनल पुगेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामा आज भएको दोस्रो क्वालिफायरमा भैरहवाले दिएको १ सय ११ रनको लक्ष्य पोखराले १८.२ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । दुवै टिमका ब्याट्सम्यानहरुले रन बनाउन संघर्ष गरेको म्याचमा भैरहवालाई फिल्डिङले धोका दियो । भैरहवाले तीनवटा महत्वपूर्ण क्याच छुटाएको थियो ।

पोखराका लाग साहान आरचिगे र बिपिन रावलले चौथो विकेटका लागि ८८ रनको साझेदारी गरे । ओपनर रिचार्ड लेभी १४ रनमा रनआउट भए भने र रित गौतम ६ रनमा पेभिलेन फर्किएका थिए ।

टस हारेर व्याटिङको निम्तो पाएको भैरहवाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १९ रनको योगफल तयार गरेको थियो । भैरहवाका लागि कप्तान शरद भेषावकरले ३३ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३२ रन बनाउँदै अविजित रहे । त्यस्तै ओपनर रोहित पौडेल १७ बलमा १८ रन र प्रदिप ऐरी ११ बलमा ११ रन जोडेर पेभिलेन फर्किएका थिए ।

उपुल थरंगा १२ बलमा १० रन र आरिफ शेखले २४ बलमा २७ रन बनाए । अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । पोखराको बलिङमा किशोर महतो र साहन आरचिगेले सर्वाधिक २/२ विकेट लिए । त्यस्तै असेल गुनरत्ने र नन्दन यादवले समान १ विकेट लिएका थिए । भैरहवाको बलिङमा भुवन कार्कीले सर्वाधिक २ विकेट लिए ।

यसअघिका संस्करणमा प्लेअफमा पनि नपुगेको पोखराले पहिलोपटक फाइनल यात्रा तय गरेको हो । यो हारसँगै भैरहवा भने पहिलोपटक ईपीएलको फाइनलमा पुग्न चु्केको छ ।

शनिबार हुने फाइनलमा पोखरा र चितवन टाइगर्स भिड्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *