कोरोना देखाउँदै नाकामा चीनको अर्घेलो: दैनिक ९ कन्टेनर मात्रै आउँछ नेपाल – Nepal Press

कोरोना देखाउँदै नाकामा चीनको अर्घेलो: दैनिक ९ कन्टेनर मात्रै आउँछ नेपाल

काठमाडौैं । उत्तरी छिमेकी चीनसँग नेपालको आयात–निर्यातमा अवरोध उत्पन्न भएको लामो समय बितिसकेको छ । यस वर्षको दशैं आउनै लाग्दा पनि सीमानाका सामान्य नभएपछि व्यापारीहरु चिन्तित बनेका छन् ।

२०७२ सालको भूकम्पयता चीनले विभिन्न बहानामा नाका सामान्य हुन दिएको छैन । भुतपुर्व उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले एउटा सार्वजनिक कार्यक्रममा चीनले नेपाललाई अघोषित नाकाबन्दी लगाएको गुनासो गरेका थिए । यद्यपि नेपालका तर्फबाट नाका सहज गराउन गम्भीर प्रयास भएको छैन ।

सामान्य अवस्थमा केरुङ र तातोपानी नाकाबाट प्रतिदिन २ सयभन्दा धेरै मालबस्तु बोकेको कन्टेनर नेपाल आउने गरेका थिए । तर, अहिले एउटा नाकाबाट बढीमा दैनिक ९ वटा कन्टेनर मात्रै आइरहेका छन् । नेपाली बजारको मागअनुसार कन्टेनर पठाउन चीनले मानिरहेको छैन ।

आयात मात्र नभएर निर्यात पनि प्रभावित बनिरहेको छ । कोरोनाभन्दा पहिले नेपालबाट चीनमा हस्तकला लगायतका बस्तु निर्यात हुने गरेका थिए । तर अहिले चीनले नेपालको उत्पादन पनि लैजादैन ।

नेपाल र चीनको पुरोनो व्यापार नीतिलाई कायम राख्न मात्रै चीनले दिनमा केही कन्टेनर नेपाल पठाउने गरेको नाकाका कर्मचारी बताउँछन् ।

मूल्यवृद्धि हुने

तातोपानी र केरुङ नाका भएर चीनबाट नेपाल सामान आयात नहुँदा बजार मूल्य प्रभावित हुनेछ । चीनको सामान केरुङ र तातोपानी नाकाबाट केही दिनमा नै आयत हुन्छ । तर भारत हुँदै ल्याउनुपर्दा करिब २ महिना लाग्ने र लागत बढ्ने व्यापारीहरु बताउँछन् । यसको भार उपभोक्ता मूल्यमा थपिन्छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका नरेश कटुवालले केरुङ र तातोपानी नाकाबाट सामान थोरै मात्रामा आयात हुँदा व्यापारी समस्यामा परेको बताए ।

कटुवालले भने, ‘नेपालको बजार मागअनुसार तातोपानी र केरुङ नाकाबाट सामान आयात हुन सकेको छैन । दसैं र जाडोको सामान आयात हुने समयमा चीनले सामान पठाउँदैन । नेपाल सरकारले पनि केही बोल्दैन ।’

दसैंको लागि चाहिने कपडा र तिहारमा प्रयोग हुने बत्ति तथा जाडो समयमा लागि आवश्यक बस्तु तातोपानी र केरुङमा नै अड्केर बसेको उनले बताए ।

नेपाल हिमालय सिमापार वाणिज्य संघका वरिष्ठ सचिव भक्त पराजुलीले केरुङ नाकाबाट दिनमा ९ कन्टेनर मात्रै सामान आयान हुँदा व्यापारीले दुख पाएको बताए ।

पराजुलीले भने, ‘चीनले केरुङ नाका हुँदै नेपाल सामान ल्याउने कन्टेनर नै आउन दिएको छैन । भारतले अहिले यसरी गाडी रोकेको भए देशभर नै आगो बलेको हुन्थ्यो । तर, चीनतर्फ अवरोध हुँदा कोही बोल्दैन ।’

सामान आयात गर्न महिना दिन कुर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । पराजुलीका अनुसारपहिले चीनले केरुङ नाकासम्म त्यसै सामान ल्याइदिने गरेको थियो । तर अहिले २६ किलोमिटरको मात्रै ६ लाख ट्रान्सफर चार्ज लिने गरेको छ ।

‘चीनले नेपालतर्फ भौतिक संरचना नभएको भन्दै सामान नै पर्याप्त पठाउँदैन,’ उनले भने, ‘यसले गर्दा बजारमा सामानको हाहाकार भएको छ ।’

तातोपानी नाका प्रमुख नारायण प्रसाद गौतमले नाकाबाट दैनिक ७ देखि ९ वटा मात्रै कन्टेनर नेपाल आउने गरेको बताए ।

गौतमले भने, ‘हामीले विस्तारै आयात हुने कन्टेनरको संख्या वृद्धि गर्न प्रयास गरिरहेका छौं । तर चीनले भने कोरोनाको कारण देखाउदै माग अनुसारको सामान आयात हुने दिएको छैन ।’

कोरोनाको बेलादेखि आयात कम भएको उनले बताए । नाकामा कोरोना नियन्त्रणको लागि सबै उपायहरु अबलम्बल गरेपनि चीनका गाडीले नाकासम्म सामान ल्याउन डराएको उनको भनाइ छ । अब विस्तारै नाका पहिलेको अवस्थामा फर्किने गौतमले विश्वास व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर